सुनसरीमा गएराती मोटरसाइकल दुर्घटना : भोजपुरका एमाले नेता राईको मृत्यु

सुनसरीमा गएराती मोटरसाइकल दुर्घटना : भोजपुरका एमाले नेता राईको मृत्यु
२०८१ माघ २ गते बुधबार १०:१३

सुनसरीमा मंगलबार साँझ भएको एक मोटरसाइकल दुर्घटनामा परेर भोजपुरका एक जना स्थानीय नेताको निधन भएको छ। सुनसरीको तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल इटहरी २० तरहरामा दुर्घटनाग्रस्त हुँदा भोजपुरका स्थानीय...

सुनसरीमा मंगलबार साँझ भएको एक मोटरसाइकल दुर्घटनामा परेर भोजपुरका एक जना स्थानीय नेताको निधन भएको छ।

सुनसरीको तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल इटहरी २० तरहरामा दुर्घटनाग्रस्त हुँदा भोजपुरका स्थानीय नेता विजय राई (मुकेश) को निधन भएको हो।

भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ५ घर भएका ३१ वर्षीय विजय राई (मुकेश) नेकपा एमाले भोजपुर हतुवागढी वडा नं. ५ का अध्यक्ष हुन् । उनी सवार मोटरसाइकल हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडकखण्डमा आँफै अनियन्त्रित भएर सडकको दाँहिने तर्फको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनामा गम्भीर घाइते राईलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा चिकित्सकहरुले मंगलबार राति ८ः१० बजे मृत घोषित गरेको डीएसपी भण्डारीले जानकारी दिए ।

सोहि दुर्घटनामा परेर इटहरी २० बस्ने १९ वर्षीय अनिष बस्नेत घाइते भएका छन् । बस्नेतले आफू मोटरसाइकलमा पछाडि सवार रहेको बताउँदै आएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।

तत्काल मोटरसाइकल चालक को हो भन्ने पहिचान नभएकाले यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मोटरसाइकल तरहरा प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ माघ २ गते बुधबार १०:१३
प्रतिक्रिया दिनुहोस्