आर्थिक अवस्था कमजोर भएकी १४ वर्षीया बालिकालाई प्रलोभन देखाएर चिनियाँ नागरिकसँग विवाह गरिदिएको पोखराको एक घटनामा जिल्ला अदालत कास्कीले एक चिनियाँ नागरिकसहित तीन जनालाई दोषी ठहर गरेको छ।
उक्त घटनामा कास्की जिल्ला अदालत कास्कीका न्यायाधिश चन्द्रकान्त पौडेलको इजलाशले लमजुङ घर भई पोखरा महानगरपालिका वडा नम्बर १६ बस्ने २२ वर्षीया सरु बिक, ३४ वर्षीया भगवती अधिकारी र ३१ वर्षीय चिनियाँ नागरिक जि मिङ चेनलाई दोषी ठहर गर्दै जेल सजायं तोकेको छ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय पोखराले कास्की जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसुरमा मुद्दा चलाएको थियो।
तर कास्की जिल्ला अदालतले तीन जनाविरुद्ध बाल विवाह गराएकोमा दोषी ठहर गरेको हो।
माघ २९ गते न्यायाधीश चन्द्रकान्त पौडेलको इजलाशले चिनियाँ नागरिक चेनलाई अन्य दुई जनालाई जस्तै नौ महिना कैद हुने फैसला गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
प्रहरी अनुसन्धान अनुसार विक र अधिकारीले आर्थिक लाभ लिई बालिकालाई चिनियाँ नागरिक चेनसँग विवाह गराइदिएका थिए । पीडित बालिकाले दिएको उजुरीमा साउन १३ गते दुई महिलाले आफूलाई फकाएर पोखराको विन्ध्यवासिनी मन्दिरमा विवाह गराएको जाहेरी दिएकी थिइन् । विवाहपछि उनीहरू लेकसाइडस्थित एक होटलमा गएका थिए । तर, सोही रात बालिका भागेर काठमाडौँ पुगेकी थिइन् ।
बालिकाले साउन २९ गते मात्र उजुरी दिएकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा अभियुक्त विक र अधिकारीले चिनियाँ नागरिक चेनसँग आर्थिक लाभ लिई बालिकासँग विवाह गराइदिएको प्रमाण फेला परेको हो । चेन ९० दिने भिजिट भिसामा नेपाल आएका थिए । मानव तस्कर गर्ने उद्देश्यले विवाह गरेको भन्दै जिल्ला अदालतले मुद्दा बालबिवाहको कसुरमा दोषी ठहर गरेको हो ।
सरकारी वकिलको कार्यालयले ०८१ भदौ २३ गते उनीहरूमाथि मुद्दा दर्ता गरेको थियो । भदौ २५ गते न्यायाधीश कृष्णजंग शाहको इजलासले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । माघ २९ गते भने फैसला गर्दै दोषी ठहर गरेको हो । अदालतको आदेशअनुसार उनीहरूलाई कारागारमा राखी कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।










