श्री गण्डकी शतकुण्डीय कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध

श्री गण्डकी शतकुण्डीय कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध
२०८२ बैशाख १९ गते शुक्रबार ०९:३१

पोखरा बैशाख १९ /पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मानसमेत गरिएको छ ।यस्तै...

पोखरा बैशाख १९ /पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ ।

आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मानसमेत गरिएको छ ।यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट शुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन शुरु गरिएको हो ।

बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी हवन कुण्डमा हवन सुरु भएको हो । हवन कार्य जेठ २६ गतेसम्म चल्नेछ ।यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय वटा हवन कुण्डमा ३÷३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।

कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गर्ने छन् ।हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी र आमा जानका भण्डारी रहने छन् । भने अरू मण्डपमा ३र३ जना ब्राह्मणले नृत्य हवन गर्ने छन् ।यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार होमन बिहान ८ बजेबाट सुरु भई ११ बजे सम्म चल्ने छ भने ११ बजे देखि १ बजेर १५ मिनेट सम्म विश्राम भई पुन ४ बजे सम्म हवन कार्य हुने छ ।

जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । उनका अनुसार हवन कुण्डमा कर्ता बस्नका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ । हवन कुण्डमा बस्दा ब्राह्मणदेखि चाहिने पुरै सामग्री आयोजकले नै व्यवस्था गर्ने छ ।

यसैगरी शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । उक्त भजन प्रतियोगितामा देशभरबाट करिब तीन सयको समूहले प्रतिस्पर्धा गर्ने खुला भजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

 

 

प्रकाशित मिति २०८२ बैशाख १९ गते शुक्रबार ०९:३१
प्रतिक्रिया दिनुहोस्