नयाँपुल– हेम्जा सुरुङमार्ग निर्माण अघि बढाइने

नयाँपुल– हेम्जा सुरुङमार्ग निर्माण अघि बढाइने
२०८२ जेठ १७ गते शुक्रबार ०५:११

पोखरा जेठ १६/ सरकारले मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको...

पोखरा जेठ १६/ सरकारले मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको काम अघि बढाइने उल्लेख गरे ।

सम्भाव्यता अध्ययन सम्पन्न भइसकेका सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चित गर्ने र निर्माण कार्यलाई अघि बढाउने योजनाअन्तर्गत नयाँपुल–हेम्जा पनि प्राथमिकतामा परेको हो ।योसँगै अध्ययन सम्पन्न भएका सुरुङमार्गहरू दुम्कीबास–बर्दघाट, खुर्कोट–चियाबारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, कुलेखानी–भीमफेदी र धरान–लेउतीको निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ ।

यसैगरी, टोखा–छहरे, शिवपुर–भालुवाङ, रानीघाट–भुरिगाउँ, दोलालघाट–चर्नावती र हात्तीसार–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने पनि बजेटमा उल्लेख गरिएको छ । उक्त सुरुङमार्गको आर्थिक वर्ष २०७९÷८० को बजेटमै स्वीकृति प्रदान गरी सम्भाव्यता अध्ययन पूरा भएको थियो ।

साबिक धौलागिरि अञ्चलका चार जिल्लाको राष्ट्रिय राजमार्ग र प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने एक मात्र सडकका रुपमा रहेको पोखरा–बागलुङ सडकमा सुरुङमार्ग बनाउन विगत एक दशकदेखि पर्वत उद्योग वाणिज्य सङ्घले पहल गर्दै आएको थियो ।

धौलागिरि क्षेत्र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण र छिमेकी मुलुक चीनको कोरल्ला नाकासँग समेत जोडिएको र पर्यटन प्रवद्र्धनका हिसाबले प्रशस्त सम्भावना बोकेको क्षेत्रलाई पोखरासँग प्रत्यक्ष जोड्नका लागि पर्वत उद्योग वािणज्य सङ्घको पहलमा यसअघि पनि छलफल र बहस हुँदै आएको थियो भने मन्त्रालयमा ध्यानाकर्षणपत्र समेत बुझाइएको थियो ।

प्रदेश तथा पर्यटनको राजधानी पोखरासँग पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई सिधा जोड्न सकियो भने राष्ट्रिय, अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धन मात्र होइन, ढुवानी र समयको समेत बचत हुने र ओझेलमा परेको धौलागिरिमा नै आर्थिक क्रान्तिको ढोका खुल्न सक्ने भएकाले उक्त कार्य आवश्यक देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर वि पौडेलले बताए।

पर्वतको कुश्मादेखि पोखरासम्म ५८ किलोमिटर रहेको छ । अब निर्माण हुने नयाँपुल–हेम्जाको दूरी झन्डै ४० किलोमिटर रहेको छ । तर सुरुङमार्ग निर्माणपछि सात किलोमिटरको दूरीमा जोडिने भएको छ । उक्त सुरुङमार्ग निर्माणपछि पोखरामा दिनहुँ भित्रिने हजारौँ पर्यटकलाई आकर्षण गर्न सकिने भएकाले, भारत र चीनको व्यापारिक मार्गका रुपमा रहेको कालीगण्डकी करिडोरसँग सिधा सम्पर्क राख्न सकिने र धार्मिक महत्व बोकेको मुक्तिनाथसँग पोखरालाई जोड्न तथा कालीगण्डकी जलयात्राका लागि पर्यटकहरुलाई भित्र्याउन सहज हुने भएकाले उक्त सुरुङमार्ग अत्यावश्यक भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले बताए।

प्रकाशित मिति २०८२ जेठ १७ गते शुक्रबार ०५:११
प्रतिक्रिया दिनुहोस्