जनप्रिय क्याम्पसका छात्रालाई उद्यमशील क्षमता विकास तालिम

जनप्रिय क्याम्पसका छात्रालाई उद्यमशील क्षमता विकास तालिम
२०८२ जेठ २७ गते सोमबार ०८:५३

पोखरा, २६ जेठ/ जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना र विश्वविद्यालय अनुदान आयोग, भक्तपुरको सहयोगमा छात्राहरूको क्षमता अभिवृद्धिका लागि तिन दिने उद्यमशील सहयोगी तालिम सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् जनप्रिय क्याम्पस...

पोखरा, २६ जेठ/ जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना र विश्वविद्यालय अनुदान आयोग, भक्तपुरको सहयोगमा छात्राहरूको क्षमता अभिवृद्धिका लागि तिन दिने उद्यमशील सहयोगी तालिम सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् जनप्रिय क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले तालिमको उद्घाटन गर्दै भने ‘छात्राहरूले सिप र उद्यमशील तालिमपछि पढ्दै कमाउँदै गर्न सके विदेशको सपना देख्नु पर्दैन ।’ विजुक्छेले महिलाहरूको क्षमता अभिवृद्धिका लागि सिप र उद्यम आत्मनिर्भर एवम् स्वरोजगारको शक्तिशाली हतियार भएको हुँदा तालिमले अब्बल बनाउन बताए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले स्वागत मन्तव्य राख्दै क्याम्पसको मुख्य मर्म नै ‘सिप, प्रविधि र उद्यमशीलता ः शिक्षामा जनप्रियको गतिशीलता भएको हुँदा प्रशिक्षार्थी छात्रालाई उद्यमशील कर्ममा लाग्न सुझाए । बरालले उद्यम र प्रविधिलाई आत्मसात गरेर स्वरोजगार बन्न सकिने साथै अरूलाई पनि जागिर दिन सकिने जनाए ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् प्रमुख सहजकर्ता सविता श्रेष्ठ रञ्जितले आफ्नै जीवनको उदाहरण प्रस्तुत गर्दै छात्राहरूका लागि उद्यमशील तालिमले शिक्षा र आत्मनिर्भरता दुबै क्षेत्रमा परिवर्तन ल्याउने विश्वास दिलाइन् । उनले आफ्नो अनुभव सुनाउँदै भनिन ‘अर्थशास्त्रमा डिग्रीको पढाइ पूरा गरेँ, सरकारी जागिर त्यागेर सियो धागो समाएँ, उद्यम सुरु गरेको १५ वर्षको अवधिमा ५ हजारभन्दा बढी महिलालाई सिप हस्तान्तरण गर्न पाउँदा नै आफूलाई सन्तुष्ट मिलेको छ ।’

सहायक क्याम्पस प्रमुख नवीनराज खनालले उद्यमशील तालिमले छात्राहरूमा उद्यमशील सोच, स्वरोजगार र व्यावसायिक कौशल विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको उल्लेख गरे । कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले स्नातक तहका छात्राहरूका लागि तालिमले व्यावसायिक क्षमताको विकासमा सघाउने हुँदा प्रशिक्षार्थीहरूको दक्षता हासिल गर्ने मार्ग खुल्ने शुभकामना दिइन ।जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालित तालिममा विविएस, विआइएम र विएमटिमका ३० जना छात्राहरूको सहभागित रहेको छ । सहजकर्ता अनुपमा तिवारीले तालिमपछि इच्छुक प्रशिक्षार्थीलाई सिप सिक्न र उद्यम व्यवसाय गर्नका लागि विधाता हस्ताकलाले थप सहजीकरण गर्ने भएको जानकारी उपप्रशासक एकनारायण अर्यालले दिए ।

प्रकाशित मिति २०८२ जेठ २७ गते सोमबार ०८:५३
प्रतिक्रिया दिनुहोस्