कृषि ज्ञान केन्द्र कास्कीको वार्षिक समीक्षा सम्पन्न

कृषि ज्ञान केन्द्र कास्कीको वार्षिक समीक्षा सम्पन्न
२०८२ असार ३१ गते मङ्गलबार १०:५२

पोखरा ३१ असार/ कृषि ज्ञान केन्द्र कास्कीको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार कास्की जिल्लामा सञ्चालित विभिन्न योजना र कार्यक्रमहरूको समीक्षा गरिएको...

पोखरा ३१ असार/ कृषि ज्ञान केन्द्र कास्कीको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार कास्की जिल्लामा सञ्चालित विभिन्न योजना र कार्यक्रमहरूको समीक्षा गरिएको हो।

कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गर्नुभयो।प्रमुख पौडेलले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणको नीति जनस्तरमा प्रभावकारी रूपमा प्रचार गर्न आवश्यक रहेको बताउँदै उत्पादनमुखी रणनीति अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

कृषकहरूले उत्पादन गरेको वस्तु बजारसम्म पुर्‍याउन नसकेको गुनासो बढ्दै गएको उल्लेख गर्दै, उहाँले सम्बन्धित सरकारी निकायलाई उत्पादनको बजारीकरणमा ध्यान दिन आग्रह गर्नुभयो। साथै, उत्पादन नीति र कार्यक्रमसँगै क्रय, विक्रय र विनिमयका क्रियाकलाप सहज बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले कार्यालयले ८५ प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको जानकारी दिँदै निर्धारित लक्ष्य र उद्देश्य प्राप्तिमा पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताउनुभयो।उहाँले कास्की खाद्यान्नमा आत्मनिर्भर हुने दिशामा अगाडि बढिरहेको दाबी गर्दै, हालसम्म ८० हेक्टर क्षेत्रमा आलु खेती विस्तार गरिएको जानकारी दिनुभयो। यसलाई सबैभन्दा ठूलो आलु विस्तार कार्यक्रमको रूपमा उल्लेख गर्नुभयो।

स्थानीय बासका कच्चा पदार्थ प्रयोग गरेर निर्माण गरिएका टनेलहरू प्रभावकारी देखिएको बताउँदै, फलफूल बगैंचा सुदृढीकरण कार्यक्रम पनि निकै सफल भएको जानकारी दिनुभयो।उहाँले देखिएका कमिकमजोरी क्रमशः सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, रैथाने बाली संरक्षण कार्यक्रममार्फत उवा बालीको व्यावसायिक उत्पादन र प्रवर्द्धनमा उल्लेखनीय उपलब्धि हासिल भएको पनि बताउनुभयो।

सो अवसरमा उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको थियो।सम्मानित कृषकहरूमा अन्नपूर्ण गाउँपालिकाका नरेन्द्र प्रसाद पौडेल, रूपा गाउँपालिकाका जोरेली मिया, माछापुच्छ्रे गाउँपालिकाका कृष्ण प्रसाद दाहाल र पोखरा महानगरपालिकाकी पिन शोभा गुरुङ रहेका छन्।उनीहरूलाई जनही रु १०,००० दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत वरिष्ठ प्रशासन सहायक सोमलाल तिवारीले तथा सञ्चालन कृषि प्रसार अधिकृत रामकृष्ण अर्यालले गर्नुभएको थियो।

कार्यक्रममा कृषि सम्बन्धित कास्की जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, कृषक, विज्ञ समूह तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति २०८२ असार ३१ गते मङ्गलबार १०:५२
प्रतिक्रिया दिनुहोस्