पवन मरासिनी /स्याङ्जा साउन १५/नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् केन्द्रीय सदस्य डा.शेखर कोइराला स्याङ्जा आउने भएका छन । संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति स्व। कमल प्रसाद पंगेनीको सातौं स्मृति सभा तथा स्व। कमल प्रसाद पंगेनी स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्न यहि श्रावण २० गते डा कोईराला स्याङ्जा आउने भएका हुन । नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजना र भिरकोट नगर कार्यसमितिको व्यवस्थापनमा भिरकोट सिटिहलमा कार्यक्रम हुन लागेको नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरत प्रसाद लम्सालले जानकारी दिए ।
सो समारोहमा डा कोईराला संगै अन्य केन्द्रिय नेताहरु समेत स्याङ्जा आउने कार्यक्रम तय भएको प्रवक्ता लम्सालले बताए । त्यस्तै, प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमितिका सदस्य, पदाधिकारी, पालिका र वडा समितिका पदाधिकारीसहित जनप्रतिनिधि, शुभेच्छुकहरुमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।
स्याङ्जाको साविक खिलुङ्देउराली गाविस हालको भीरकोट नगरपालिका ६ मा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिएका थिए । उनि संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं। २ मा विजयी हुनु भएका थिए । २०६४ सालको पहिलो संविधान सभामा स्याङजा क्षेत्र न १ वाट उम्मेद्ववार वनेका पंगेनी नेकपा एमालेसँग पराजित भएका थिए । राजनीतिको छोटो सयममै २०४२ सालमा पंगेनी नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य बनेका थिए ।
काँग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशालि नेताका रुपमा चिनिएका पंगेनी २०६०, २०६७ र २०७२ मा गरि तीन पटक काँग्रेस स्याङ्जाका सभापति बनेका थिए । अन्तरजातिय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन । निम्न मध्यम वर्गिय परिवारका पंगेनी सिंगो पार्टी र जिल्लाका लागी कुशल संगठनकर्ता थिए । उनको वि स २०७५ साल श्रावण २० गते हृदयघातका कारण निधन भएको थियो ।










