पोखरा, माघ २४/ २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपाङ्गता तर्फका दौडहरु सम्पन्न भएका छन् ।नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगिता अन्तर्गत सम्पन्न ह्विल चेयर पुरुषतर्फको २ किलो मिटर दौडमा भरत अधिकारीपहिलो भएका छन् । उनले उक्त दौड पुरा गर्न १० मिनेट १०.५९ सेकेण्डमा दुरी पार गरे ।यस्तै दोश्रो भएका जिवन श्रेष्ठले १० मिनेट ३६.४० सेकेण्डमा दौड पुरा गर्दा तेश्रो स्थान प्राप्त गरेका सुरेश गौलीले ११ मिनेट ११.४४ सेकेण्डमा पार गरे ।
यस्तै महिलातर्फको ह्विल चेयर दौड स्याङजाकी पुनम विकले जितेकी छन् । उनले १ किलो मिटरको दौड ९ मिनेट ९.६ सकेण्डमा पार गरिन् । यसै गरी महिलातर्फ कास्कीकी अन्जु बराल १० मिनेट ३९.७ मिनेटमा दौड पुरा गरी दोश्रो भएकी हुन् ।
दृष्टिविहीन दौड प्रतियोगितामा पुरुषतर्फ लमजुङका विसु तामाङ प्रथम, म्याग्दीका सोनम विक द्वितीय र स्याङ्जाका युवराज भण्डारी तृतीय भए । दृष्टिविहीन दौड प्रतियोगितामा महिलातर्फ स्याङ्जाकी देवी बराल प्रथम, पोखरा अमरसिंहकी शर्मिला सुनार द्वितीय र कास्कीकै कृष्टिना पौडेल तृतीय भईन् ।
ह्वीलचेयर तथा दृष्टिविहीन दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नेपाली सेनाको पश्चिम पृतनापती बिजयपुरका भोलानाथ थापा, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, निर्बमान अध्यक्ष हरिप्रसाद पराजुली, मञ्च अध्यक्ष दिल बहादुर गुरुङ, मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङ, कालिका गणका प्रमुख बसन्त सिहं लगाएतले मेडल, नगद र प्रमाणपत्र प्रदान गरेका थिए । सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको ग्राण्ड ईभेन्ट भने फागुन २ गते हुने आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चले जनाएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले बताए ।











