पोखरा चैत २९/ नेकपा एमाले पोखरा–२१ वडा कमिटी अध्यक्ष राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत समसामयिक राजनीतिक तथा नीतिगत विषयमा धारणा सार्वजनिक गरेका छन्। उनले लोकतन्त्रमा लोकप्रियता होइन, जिम्मेवारी र परिणाम नै नेतृत्वको वास्तविक मापदण्ड भएको स्पष्ट पारेका छन्।
थापाले संसदजस्तो जनताको सर्वोच्च मञ्चमा उभिएर स्पष्ट योजना, दृष्टिकोण र उत्तरदायित्व प्रस्तुत गर्नु नेतृत्वको कर्तव्य भएको उल्लेख गर्दै मौनता वा अस्पष्टता लोकतान्त्रिक संस्कारअनुसार उपयुक्त नहुने बताएका छन्। साथै, सामाजिक सञ्जालमा ताली बजाउने र भीड उचाल्ने प्रवृत्तिप्रति टिप्पणी गर्दै राष्ट्र चलाउने काम अनुभव, संयम र संस्थागत अभ्यासले मात्र सम्भव हुने उनको भनाइ छ। उनले थप लेखेका छन्— “प्रश्न सोध्नु, सुझाव दिनु र आवश्यक ठाउँमा आवाज उठाउनु विरोध होइन, राष्ट्रप्रतिको जिम्मेवारी र सच्चा लोकतान्त्रिक चेतको संकेत हो।”
यसैबीच, उनले पछिल्ला नीतिगत निर्णयहरूले समन्वय र तयारीको महत्व झन् प्रष्ट पारेको उल्लेख गरेका छन्। आइतबार बिदा व्यवस्थापनपछि स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएको अन्योललाई उदाहरण दिँदै उनले तयारीको कमीले सेवा प्रवाह प्रभावित हुन सक्ने बताएका छन्।अन्त्यमा उनले व्यक्तिपूजा होइन, नीति र परिणामको राजनीतिबाट मात्र देशलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउन सकिने धारणा दोहोर्याएका छन्। उनको फेसबुक पोस्ट यस्तो छ जस्ताको तस्तै :
लोकतन्त्रमा लोकप्रियता कमाउनु ठूलो कुरा होइन, तर जिम्मेवारी बहन गरेर परिणाम दिनु नै साँचो नेतृत्वको मापदण्ड हो। देशको कार्यकारी जिम्मेवारी सम्हालेपछि मौन बस्ने होइन, संसदजस्तो जनताको सर्वोच्च मञ्चमा उभिएर आफ्नो योजना, दृष्टिकोण र उत्तरदायित्व स्पष्ट रूपमा राख्नु नेतृत्वको कर्तव्य हो। आज सामाजिक सञ्जालमा ताली बजाउने र भीड उचाल्ने संस्कार सजिलो छ, तर राष्ट्र चलाउने काम अनुभव, संयम र संस्थागत अभ्यासले मात्र सम्भव हुन्छ। लोकप्रियताको लहरमा बहकिएर संस्थागत मूल्य र संसदीय संस्कारलाई कमजोर बनाउने प्रवृत्ति भोलि देशकै लागि घातक सावित हुन सक्छ। प्रश्न सोध्नु, सुझाव दिनु र आवश्यक ठाउँमा आवाज उठाउनु विरोध होइन, राष्ट्रप्रतिको जिम्मेवारी र सच्चा लोकतान्त्रिक चेतको संकेत हो।
यसैबीच, पछिल्ला नीतिगत निर्णयहरूले समन्वय र तयारीको महत्व झन् प्रष्ट पारेका छन्। आइतबार बिदा व्यवस्थापनको उद्देश्य जे भए पनि, चौतर्फी आलोचनापछि स्वास्थ्य मन्त्रालयले ओपिडी सञ्चालन गर्न निर्देशन दिनुपरेको अवस्था आफैंमा तयारीको कमी देखाउने उदाहरण हो। चिकित्सा क्षेत्र सेवा मात्र होइन, राज्यको दायित्व पनि होस तर सीमित दक्ष जनशक्ति, थकान र व्यवस्थापनको अभावलाई बेवास्ता गरेर लिइएका निर्णयले सेवा प्रभावकारी हुने सुनिश्चितता हुँदैन। अर्कोतर्फ, विद्यालयका शिक्षकहरू पनि पाठ्यभार र समय व्यवस्थापनमा अन्योलमा देखिनु स्वाभाविक हो—नीति बनाउँदा एक क्षेत्र होइन, समग्र प्रणालीको सन्तुलन हेर्नु अनिवार्य हुन्छ।
नीति बनाउँदा हतार होइन, तयारी चाहिन्छस घोषणा होइन, कार्यान्वयन चाहिन्छस र लोकप्रियता होइन, परिणाम चाहिन्छ। नयाँ वर्ष २०८३ बाट चरणबद्ध रूपमा जनशक्ति व्यवस्थापन गर्दै, विशेषगरी स्वास्थ्य क्षेत्रमा तीन सिफ्टसम्म सेवा विस्तार गर्ने स्पष्ट योजना अघि सारिएको भए निर्णय अझ प्रभावकारी र व्यवहारिक देखिन्थ्यो। आज ताली बजाउनेहरू धेरै हुन सक्छन्, तर भोलि इतिहासले केवल काम, परिणाम र जिम्मेवारीलाई मात्र सम्झनेछ—त्यसैले व्यक्तिपूजा होइन, नीति र परिणामको राजनीति बलियो बनाऔँ, यही बाटोले मात्र देशलाई स्थिरता, अनुशासन र समृद्धिको दिशामा अघि बढाउँछ।










