बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए ।
उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । पंगेनी पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् ।
पंगेनीमाथि अनुसन्धान गरेर दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारकाही हुने डीएसपी कुँवरले बताए । मेयरमाथि मुक्का प्रहार भएपछि बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीले पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।
यो पढौँ ।
बुटवलमा पहिरो अवलोकन गर्न गएका मेयरमाथि स्थानीयको मुक्का
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनमा लागि गएका मेयर सुवेदीलाई एक युवाले पहिरो पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै मुक्का हानेका हुन् ।
यति लामो दिन आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै उनी मुक्का हान्न पुगेका थिए । उनीमाथि आक्रमण भएपछि तत्काल जनपथ र नगर प्रहरीले रोकेका थिए । उनलाई मुक्का प्रहार भएको स्थानीयले खिचेको भिडियोमा प्रष्ट देखिन्छ । इलाका प्रहरी कार्यालय बुटवल प्रहरी नायव उपरीक्षक मदन कुँवरले मेयरमाथि आक्रमण भन्दा पनि स्थानीय आक्रोशित हुँदै होहल्लामात्रै गरेको दावी गरे ।
आक्रमण गर्नेको परिचय खुलेको छैन । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्रभावित भएका छन् । आफूहरु विस्थापित हुँदा समेत सरकारले नहेरेको भन्दै स्थानीय आक्रोशित बन्दै मुक्का प्रहार नै भएपछि मेयर फर्किएका थिए । सो स्थानमा पटक चुरे क्षेत्रबाट आउने पहिरोले समस्या पार्ने गरेको छ ।










