गलकोटमा माओवादी केन्द्र र एमालेबीच पार्टी एकता

गलकोटमा माओवादी केन्द्र र एमालेबीच पार्टी एकता
२०७८ असोज २४ गते आईतबार ०६:५३

बागलुङको गलकोट–२ नरेठाँटीमा नेपाल कम्युनिष्ट पार्र्टी (माओवादी केन्द्र) र एमालेबीच पार्टी एकता भएको छ । एकता भेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढामगर सागरले...

बागलुङको गलकोट–२ नरेठाँटीमा नेपाल कम्युनिष्ट पार्र्टी (माओवादी केन्द्र) र एमालेबीच पार्टी एकता भएको छ ।

एकता भेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढामगर सागरले विभिन्न समय र परिस्थीतिमा नेतृत्व पङ्तीले गलत निर्णय लिँदा जनभावनाको कदर नभएको भन्दै जनस्तरबाट पार्टी एकता सुरु भएको बताउनुभयो ।

गलकोट नगरपालिका– २ मा भएको बृहत पार्टी एकताको लागि बनेको कार्यदलले पार्टी एकताको काम छिटो सम्पन्न गराउन आग्रह गर्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको ध्रुबिकरणलाई मजबुद बनाउँदै नरेठाँटीबाट सुरु भएको एकता अभियानलाई सबै वडा, सबै पालिकाहरुमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री बुढामगरले नेकपाको विभाजनमा स्वदेशी र विदेशी शक्तिहरुको चलखेलको प्रभावले काम गरेको भन्दै जनस्तरबाट पार्टी एकता गरेर जनभावनाको कदर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको आकांक्षा पुरा भए नभएको र चुनावी घोषणाको समिक्षा गदै आगामी दिनमा पार्टी संगठन रुपान्तरण र सुदृढिकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफू सांसद भए पछिका योजनाहरु तथा कामहरुको बारेमा समष्टिगत विवरण सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभयो । मन्त्री बुढा मगरले गण्डकी सरकारले कारोनाबाट मृत्यु भएका परिवारलाई आवश्यक सहयोग गर्ने नीति लिएकोले सुचिकृत गर्ने काम चलिरहेको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशलाई खोपयुक्त प्रदेश बनाउने उद्देश्यले सबै नागरिकलाई खोपको व्यवस्था गर्ने काममा सरकार जुटेको बताउनुभयो । गलकोट सहितका आम कृषकलाई प्रविधि र सिप हस्तान्तरणको लागि आफ्ले सक्दो पहलकदमी लिने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य ज्ञामनाथ गैरे, गलकोट नगरपालिकाका ईन्चार्ज फमलाल निउरे, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा कार्यदलका संयोजक बुलबहादुर केसी, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटी अध्यक्ष ललित श्रीस लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

भेलामा नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका सम्पूर्ण काम सम्पन्न गर्न ९ सदस्यीय कार्यदल बनाइएको छ । एकता कार्यदलका संयोजकमा नेकपा एमालेबाट बुलबहादुर केसी रहेका छन् भने, सदस्यहरुमा एमालेबाट चिन्त नेपाली, टंक कार्की र यामबहादुर बस्नेत रहेका छन् । माओवादी केन्द्रबाट चन्द्र दत्त रेग्मी, मनोज पुन, जीतबहादुर केसी, प्रेमबहादुर कुवँर, रामबहादुर कुवँर रहेका छन् ।

प्रकाशित मिति २०७८ असोज २४ गते आईतबार ०६:५३
प्रतिक्रिया दिनुहोस्