पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा कम्तिमा ३० प्रतिशत छुट दिइने भएको छ ।
होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको जानकारी दिनुभयो । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई उहाँले आग्रह समेत गर्नुभयो ।
सङ्घका महासचिव राजेन्द्र ढकालले भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, हवाई दुर्घटनालगायत कारणले सिथिल भएको पर्यटन क्षेत्र हालैको वर्षापछिको बाढीपहिरो तथा डुबानले थप प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँले केही दिनअघिको विपत्तिका कारण परेको असर हाल सामान्य बन्दै गएकामा ३० प्रतिशत छुटको कार्यान्वयनले त्यसलाई थप सहज बनाउँदै लग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
सङ्घका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नति काम पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गको अवस्थासमेत सुरक्षित नै रहेकाले पोखरा भ्रमणक लागि सबैलाई आह्वान गर्नुभयो ।










