पोखरामा प्रधान कार्यालय रहेर देशभर सार्वजनिक यातायात सञ्चालन गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले दशैँमा यात्रुले गन्तव्यमा पुग्नका लागि टिकट नपाउने अवस्था नरहेको जनाएको छ ।
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले आज प्रेस विज्ञप्ति जारी गरी प्रालिको सेवा सञ्चालन क्षेत्रमा कुनै पनि यात्रुले टिकट नपाएको वा घर जान नपाएको गुनासो नआएको स्पष्ट पार्नुभएको छ । साथै उहाँले गाडी नपाउने अवस्था आउन नदिने गरी कम्पनीले तयारी गरेको समेत स्पष्ट पार्नुभएको छ ।
विज्ञप्तिमा भत्किएका सडकहरूको मर्मत सम्भार तथा झण्डै शतप्रतिशत निजी क्षेत्रको लगानी ओगटेको सार्वजनिक यातायात क्षेत्रको लगानी त्यसको प्रतिफल, बैंक एवं वित्तीय संस्थाहरूको कर्जा लगानीको व्यवस्थापन र निजी क्षेत्रका व्यवसायीहरूको लगानी तर्फ राज्यले प्रदान गर्नुपर्ने अभिभावकत्व शुन्य रहेको जनाइएको छ ।
यस वर्ष बेमौसमी वष्र्षाका कारण सडक तथा प्राकृतिक प्रकोपमा परि आफ्नो अमूल्य जीवन गुमाउनु भएका यातायात उपभोक्ता यात्रु, मजदुर तथा सर्वसाधारण प्रति कम्पनीले श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको खोजी गर्न, भत्किएका संरचनाहरु पुनः निर्माण, नागरिकहरुको भौतिक संरचना र सम्पत्तिको क्षतिपूर्ति र दैनिक गासवासको वन्दोवस्त तिव्र बनाउन सम्बद्ध निकायहरुसँग हार्दिक अपिल गरेको छ ।
“विषम परिस्थितिमा सरकारले देखाउनुपर्ने तदारुकता प्रभावकारी नभएको आम नागरिकले महसुस गरेका छन्। मौसममा केही सुधार आएपछि सडक मर्मतसम्भार गरी निम्न तथा मध्यम वर्गीय यात्रुहरूलाई चाडपर्वको बेला घर जाने व्यवस्था गर्नुपर्नेमा स्वदेशी तथा विदेशी पुँजीपति वर्गको पक्षपोषण हुने गरी यात्रु चापको अवस्थामा मात्र मौकाको अनुचित फाइदा उठाउने गरी आन्तरिक उडान थप गर्ने र चर्को भाडा दरमा यात्रुहरुलाई गन्तव्य तर्फ जान बाध्य बनाइएको र ग्रामीण दूरदराजमा जानुपर्ने यात्रुहरु बसपार्कहरुमा अलपत्र हुन बाध्य भएका छन्। ” विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले पर्याप्त सवारी साधन नभएका ठाउँमा एक दुई जना यात्रु मिलीजुली जानेगरी बस चढ्दा अनुगमनका नाममा दण्ड जरिवाना गरिएकामा समेत आपत्ति जनाएको छ ।










