शनिवार बागलुङको बरेङ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको सातौं गाउँसभामा उपाध्यक्ष दिलकुमारी पुनले ३७ करोड ३४ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । कोरोना महामारी नियन्त्रण, उत्पादनमा बृद्धि र शिक्षा क्षेत्रमा केन्द्रित बजेट गाउँसभामा प्रस्तुत भएको हो । शिक्षा क्षेत्रको लागि १ करोड ९४ लाख रुपैयाँ बिनियोजन भएको छ । सडक र पूर्वाधारका बहुबर्षे आयोजनालाई निरन्तरता दिईएको छ ।
गाउँपालिका केन्द्र बरेङ बजारको व्यवस्थापन र वाईफाई व्यवस्थापनको लागि बजेट बिनियोजन भएको छ । बजेटमा गाउँपालिका कार्यरत सबै कर्मचारीको तलबमान बढाइएको छ । गाउँपालिका अन्तरगतका कर्मचारी सबैको तलब मासिक दुई हजारले बृद्धि गरिएको हो । विद्यालयमा कार्यरत कर्मचारी तथा बालशिक्षकका लागि भने मासिक १५ हजार, सामुदायिक सिकाइ केन्द्रका परिचालिकाका लागि ८ हजार २ सय र लेखापालका लागि मासिक १६ हजार पु¥याईएको छ ।










