रबि लामिछाने रुपन्देही प्रहरीको हिरासतमा दुई दिन रहने

रबि लामिछाने रुपन्देही प्रहरीको हिरासतमा दुई दिन रहने
२०८१ चैत २२ गते शनिवार १२:१३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामै राख्न शुक्रबार दिएको आदेश...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामै राख्न शुक्रबार दिएको आदेश कार्यान्वयनका लागि उनलाई आजै बिहान रुपन्देही पुर्‍याइएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले पूर्वगृहमन्त्री लामिछानेलाई आज बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालय ल्याइपुर्‍याइएको जानकारी दिए।

डीएसपी कार्कीका अनुसार आज शनिबार र भोलि आइतबार पनि सार्वजनिक बिदा परेकाले अब रविलाई सोमबार मात्र अदालत उपस्थित गराइनेछ।

सोमबार अदालतले थुनामा पठाउने अनुमति दिएपछि लामिछानेलाई कारागार चलान गरिने उनले बताए।

सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले गत माघ १३ गते एक करोड धरौटीमा रिहा गर्न आदेश दिएपछि रवि रिहा भएका थिए। तर त्यही मुद्दामा छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश हुँदा रविलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दिएको थियो।

सो मागबमोजिम उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार आदेश दिएपछि रवि त्यही राति काठमाडौँस्थित घरबाटै पक्राउ परेका हुन्। रातभर काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर रविलाई आज बिहानै यती एअरलाइन्सको जहाजबाट रुपन्देही पुर्‍याइएको हो।

प्रकाशित मिति २०८१ चैत २२ गते शनिवार १२:१३
प्रतिक्रिया दिनुहोस्