तमानखोला बागलुङमै पहिलो खरको छानामुक्त पालिका

तमानखोला बागलुङमै पहिलो खरको छानामुक्त पालिका
२०७८ असार ७ गते सोमबार ०५:४२

तमानखोला गाउँपालिका बागलुङमै पहिलो खरको छानामुक्त पालिका बनेको छ । गाउपाँलिकाले जिल्लाभरिमै पहिलो पटक सबै खरको छाना विस्थापित गर्न सफल भएको हो । गाउँपालिकाले चालु वर्ष ९७ घर जस्तापाताले छाएपछि सबै खरको छानामुक्त भएको अध्यक्ष...

तमानखोला गाउँपालिका बागलुङमै पहिलो खरको छानामुक्त पालिका बनेको छ । गाउपाँलिकाले जिल्लाभरिमै पहिलो पटक सबै खरको छाना विस्थापित गर्न सफल भएको हो ।

गाउँपालिकाले चालु वर्ष ९७ घर जस्तापाताले छाएपछि सबै खरको छानामुक्त भएको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । ‘अति विपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न सफल भएका छौं,’ उहाँले भन्नुभयो । गाउँपालिकाले बर्सेनि बजेट विनियोजन गरेर खरको छाना विस्थापित गर्ने योजना राखेको थियो ।

आगामी आर्थिक वर्षका लागि भने उक्त शीर्षक राख्नै नपर्ने भएको प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले जानाकारी दिनुभएको छ । अभियान सफल पार्न गाउँपालिकाले प्रत्येक घरलाई ५० हजार रुपैयाँ अनुदान दिएको थियो । खरको छाना विस्थापित गर्दा वर्षात्मा चुहिने समस्या पनि समाधान भएको वडा ४ का दलप्रसाद छन्त्यालले बताउनुभयो ।

गाउँपालिकाभरिका २ सय ३४ घर खरमुक्त भएका हुन् । योजनामा अनुदान बराबरको सम्बन्धित घरधनीले लगानी गर्नुपर्ने प्रावधान राखिएको थियो । श्रमदान र नगदसमेत गरी सबै घरले कम्तीमा ४० देखि ५० प्रतिशतसम्म लगानी थपेपछि सबै घर खरको छानामुक्त भएका हुन् ।

खरको छाना हुँदा चैत वैशाखमा आगलागीका घटना धेरै हुन्थे । अहिले भने यो पालिकामा त्यस्ता घटना नभएको वडा ४ का अध्यक्ष उदिम छन्त्यालले बताउनुभयो । हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उहाँको भनाई छ ।

आफ्नो क्षमताले छाएकाले भने ढुंगाको छाना राखेका छन् । अस्थायी बसोबास भएका र पशुचरनमा जानेहरू धेरै हुँदा केही घरको छाना फेर्न ढिलाइ भए पनि कामलाई पूर्णता दिन पाएको तमानखोला ६ का वडा अध्यक्ष कुलबहादुर छन्त्यालले बताउनुभयो । सुरुमा सम्भव छैन भन्ने साथीहरु हुनुहुन्थ्यो, गरे हुँदाृ रहेछ । हामी सफल भएरै छाड्यौं ।

‘घरघरमा कृषि उत्पादन बढाउने, पर्यटन प्रवर्द्धन र यहाँका केही खानी सञ्चालनमा पहल भएको छ । ती योजना पूरा भएमा तमानखोलाका अधिकांश विपन्नले रोजगारी पाउनेछन् । यहाँको तामाखानी सञ्चालन गर्दा सयौंले रोजगारी पाउने वडा ६ का अध्यक्ष छन्त्यालले बताउनुभयो ।

कर बढेपछि बन्द भएका खानी सञ्चालनका लागि गाउँपालिकाले खानी तथा भूगर्भ विभागमा पत्राचार गरेको छ । विभागले धाउ निकालेर ल्याब परीक्षणका लागि पठाएको छ ।

तमानको सबै वडाको लेकाली बस्तीमा व्यावसायिक भेडा फर्म सञ्चालन छन् । फर्मलाई थप व्यवस्थित बनाई वार्षिक सयौं भेडा बेच्न सक्ने बनाउन अनुदान र प्राविधिक व्यवस्थापनमा बजेट विनियोजन गरिएको अध्यक्ष बुढाले बताउनुभयो । तमानखोला भौगोलिक बनावटले समेत कठीन र अफ्ठेरा स्थानमा मानिसहरुको वस्तिछन् । गरिवी पछौटेपन उक्तिकै समस्याका रुपमा रहेको छ । तर पालिकाले योजना बनाएर कार्यान्वयन गर्न सफल भएको प्रशासकीय अधिकृत लम्सालले बताउनुभयो ।

प्रकाशित मिति २०७८ असार ७ गते सोमबार ०५:४२
प्रतिक्रिया दिनुहोस्