पोखरा, साउन २१ / पोखरा १५ नयाँगाउँस्थित आई एन एफ नेपाल हरियोखर्क अस्पतालले सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने भएको छ।आई एन एफ नेपाल हरियोखर्क अस्पताल, पोखरा र सामाजिक सुरक्षा कोष, बानेश्वर, काठमाडौंबीच गएको मंगलवार स्वास्थ्य सुरक्षा योजना कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि उक्त सेवा सञ्चालनको प्रक्रिया अघि बढेको अस्पतालका सूचना अधिकारी एकदेव देवकोटाले बताउनुभयो ।
सम्झौता अनुसार सामाजिक सुरक्षा कोषका योगदानकर्ता, उनीहरूका श्रीमान÷श्रीमती, सन्तान तथा योजनाले समेटेका परिवारका सदस्यले औषधोपचार तथा स्वास्थ्य सुरक्षा योजनाअन्तर्गत स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। अस्पतालका सूचना अधिकारी देवकोटाका अनुसार स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक स्वीकृति प्राप्त भइसकेको जानकारी दिँदै सेवा सुरु गर्न केही प्राविधिक तयारी बाँकी रहेकाले सञ्चालन हुन केही समय लाग्ने बताउनुभयो।
सम्झौतामा आइएनएफ नेपालको तर्फबाट कार्यकारी निर्देशक कृष्ण अधिकारी र मानव संसाधन व्यवस्थापक श्याम विकले हस्ताक्षर गरेका थिए। त्यसैगरी सामाजिक सुरक्षा कोषको तर्फबाट निर्देशक उत्तमराज नेपाल तथा उपनिर्देशक डा। सचित कुमार भण्डारीले हस्ताक्षर गरेका थिए।
सामाजिक सुरक्षा कोषसँगको सम्झौतापछि पोखरा तथा आसपासका क्षेत्रमा रहेका योगदानकर्ताले आफ्नै क्षेत्रको स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। यसबाट स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै योगदानकर्ताले सामाजिक सुरक्षा योजनाअन्तर्गत प्राप्त गर्ने सुविधाको प्रभावकारी कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ।











