पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर चार जनाको मृत्यु, २ घाइते

पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर चार जनाको मृत्यु, २ घाइते
२०८२ बैशाख ८ गते सोमबार ०८:३३

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ। ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे...

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ।

ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको बोलेरो जिपमा बिहान ४ः५० बजेतिर आगलागी भएको हो । स्थानीय सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तार बोलोरमो प्रवाह हुँदा आगो लागेको स्थानीयले बताएका छन्।

जिप चालक फुङलिङ घर भएका गाडी चालक ४५ वर्षीय दुर्गा भट्टराईसहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार आगोले जलेर ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएको र उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले घटनामा सविनकी छोरी १६ वर्षीय आध्या आचार्य, उनका मावलीतर्फका हजुरबुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल तथा गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बुका ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको जानकारी दिए ।

गम्भीर घाइते भएकी सविनाको शरीरको धेरै भाग जलेको छ । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८२ बैशाख ८ गते सोमबार ०८:३३
प्रतिक्रिया दिनुहोस्