बागलुङ पश्चिमका चार स्थानीय सरकारले आर्थिक वर्ष २०७८-०७९ को नीति कार्यक्रम तथा वजेट घोषणाको तयारी गरेका छन् ।
ढोरपाटन नगरपालिकाले नवौं नगरसभा मार्फत आफ्नो नीति कार्यक्रम र वजेट घोषणाको तयारी गरेको जनाएको छ । नगरपालिकाले केही नयाँ तथा केही पुराका योजनालाई निरन्तरता दिनेगरि तयारी भएको नगर कार्यपालिका सदस्य चित्रबहादुर भण्डारीले बताउनुभयो ।
ढोरपाटन नगरपालिकाले समानीकरण अनुदानतर्फ १० करोड ३२ लाख, संघीय सशर्त अनुदानतर्फ २२ करोड, ३८ लाख, प्रदेश शसर्त अनुदान तर्फ ५० लाख, प्रदेश समपूरक वजेट ५० लाख, संघको राजश्व ८ करोड ७८ लाख ४ हजार, प्रदेश राजश्व ६० लाख ८ हजार र स्थानीय राजश्व ४० लाख गरि कुल ४४ करोड, ६५ लाख, १० हजार वरावरको वजेट घोषणा हुँदैछ ।
पश्चिमका चार स्थानीय सरकार मध्ये, तमानखोला गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गरिसकेको छ । वडा कार्यालय र केही महत्वपूर्ण योजनाहरु नीति कार्यक्रम र वजेटमा आउने तमानखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कुलबहादुर छन्तयालले बताउनुभयो । पालिकाको दशौं गाउँसभाको तयारी भइरहेको प्रशासकीय अधिकृत प्रभात लामिछानेले बताउनुभयो ।
तमानखोलाले समानीकरण अनुदानतर्फ ६ करोड ८६ लाख, सशर्त अनुदानतर्फ ११ करोड, ५ लाख बजेट गरि कुल १७ करोड ९१ लाख रुपैयाँ वजेट प्राप्त गरेको छ ।
यस्तै निसीखोला गाउँपालिकाले पनि आफ्नो प्रशासनिक भवन निर्माण सम्पन्न गरिसेको छ । निसीखोला गाउँपालिकाको वडा नं. १ र ३ वाहेका सबै वडामा वडा कार्यालयहरु समेत निर्माण गरिएको छ । निसीखोलाले पनि केही नयाँ योजना ल्याउने र केही पुरानालाई निरन्तरता दिने तयारी गरेको वडा नं. ३ का वडा अध्यक्ष जुन विक्रम शाहीले जानाकारी दिनुभयो । आफ्नो वडामा समेत वडा कार्यालयका लागि जग्गा व्यवस्थापन भई केन्द्रिय वजेटबाट यस आर्थिक वर्षमा निर्माण हुने वडा अध्यक्ष शाहीले बताउनुभयो । निसीखोला गाउँपालिकाको आठौं गाउँसभा आज सम्पन्न हुँदैछ ।
निसिखोला गाँउपालिकाले समानीकरण अनुदानतर्फ ९ करोड ७६ लाख, सशर्त अनुदानतर्फ १८ करोड ८६ लाख र समपुरक अनुदानतर्फ २१ लाख गरी कुल २८ करोड ८३ लाख वजेट प्राप्त गरेको छ ।
उता बडिगाड गाउँपालिकाले आफ्नो पालिकको प्रशासनिक भवन निर्माण गरिरहेको छ । वडा कार्यालय निर्माण र मोटरबाटोको पहुँचमा नआइपुगेका स्थानमा सडक निर्माण गर्न कार्यपालिकामा छलफल भएको वडा नं. ६ का वडा अध्यक्ष मौसम काजी क्षेत्रीले बताउनुभयो । जहाँ समस्या छ, त्यहाँ वजेट र कार्यक्रमले समेटनु पर्दछ भन्नेमा नीतिगत सहमति गरिएको र सोही अनुसार आज नीति कार्यक्रम र वजेट आउने उहाँको भनाई छ । बडिगाड गाउँपालिकको नवौं गाउँसभाको अहिले तयारी भइरहेको छ ।
बडिगाड गाँउपालिकाले सबैभन्दा बढी ४४ करोड ६ लाख रुपैयाँ वजेट विनियोजन भएको छ । बडिगाड गाउँपालिकामा समानीकरण अनुदानतर्फ ११ करोड ७८ लाख, सशर्त अनुदानतर्फ २९ करोड, २६ लाख, विशेष अनुदानतर्फ २ करोड ३७ लाख र समपुरक अनुदानतर्फ ६५ लाख बजेट प्राप्त गरेको छ ।
अहिले बागलुङका १० वटै स्थानीय सरकारले आफ्नो नीति कार्यक्रम र वजेट घोषणाको तयारी गरिरहेका छन् । केहीले घोषणा सुरु गरेकाछन् भने केहीले सुरु गर्दैछन् ।
बागलुङमा ३ अर्ब ८७ करोड ७५ लाख रकम विनियोजन भएको छ । जसको वाँडफाँड आज हुँदैछ ।










