नेपाली मात्रको महान चाड दशैं आउन झन्डै डेढ हप्ता बाँकी रहंदा हिमालपारीका क्षेत्रहरुबाट भेडा – च्याङ्ग्रा पोखरा आउन शुरु गरेका छन्।
हिमाली क्षेत्रमा पाइने जडिबुटी खाएका भेडा-च्यांग्रा स्वास्थ्यबर्द्धक र स्वस्दिष्ट मानिने हिमालपारीका क्षेत्रहरुबाट कम्तिमा १० हुन् भेडा – च्याङ्ग्रा पोखरा आइ पुगेव्का छन्।
प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, बझाङ, बाजुरालगायतका जिल्लासँगै छिमेकी देश चीनका व्यापारीहरुले पोखरासम्म भेडा च्याङ्ग्रा ल्याउने गर्छन्।
पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाका बिभिन्न स्थानहरु र पोखरा १ सिम्पानी क्षेत्रमा ब्यपारीहरुले भेडा-च्यांग्रा बेच्न राखेका छन्। उनीहरुले २० देखि २२ किलो मासु बस्ने प्रति गोटा च्याङ्ग्रालाई ४५ देखि ५० हजारसम्म मूल्य बताएका छन्।
यस वर्ष १५ हजारको हराहारीमा भेडा च्याङ्ग्राहरु पोखरा आउने व्यापारीहरुले आंकलन गरेका छन्।
यस वर्ष चीन – नेपाल बिचको कोराला नाका खुलेकाले चीनबाट पनि भेडा-च्याङ्ग्रा आउने भएकाले मूल्यमा ब्यापक गिरावट हुने स्थानीय उपभोक्ताहरुले अपेक्षा गरेका छन्। तर भेडा – च्याङ्ग्रा पोखरा ल्याइसकेका व्यापारीहरु कोराला नाकाबाट भेडा-च्याङ्ग्रा नेपाल नआउने हल्ला गरिरहेका छन्।
विशेष गरीे पोखरामा फूलपातीको दिन भेडा च्याङ्ग्रा बढी विक्री हुने गरेको छ। पोखराको पुरानो टुँडिखेलमा भेडा च्याङ्ग्राहरु बिक्रिका लागि राखिन्छ। त्यहाँ ठुलो मेलासमेत लाग्ने गर्छ। पोखरामा आएकामध्ये दुई तिहाई च्याङ्ग्रा स्थानीयस्तरमै बिक्रि हुने र बाँकी काठमाडौं, धादिङ, तनहँु, स्याङ्जा, चितवन, बुटबल, धरान, पाल्पालगायत देशका विभिन्न जिल्लाहरुमा लैजाने गरिन्छ।










