पोखरा मंसिर १०/ पोखराको वडा नम्बर ४ ले आगामी शनिबार गणेश टोलमा ‘छैटौँ यःमरी महोत्सव’ आयोजना गर्ने भएको छ । नेवारी समुदायको सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्ने उद्देश्यले नेवाः मिसा पुचः कास्कीसँगको सहकार्यमा महोत्सव हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
महोत्सवमा नेवारी परिकारको प्रदर्शनीसँगै बिक्री, विद्यार्थी नृत्य, झाँकी, ब्यान्ड सो र यःमरी प्रतियोगिता मुख्य आकर्षण रहने छन् । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगी लगायत सामग्री राखेर बनाइने गरिन्छ ।
आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात् यःमरी बनाउन थोरैले जान्दछन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन नेवा मिसा पुचः कास्की लागिपरेको छ । महोत्सवमा नेवारी खानेकुराका ६ स्टल राखिनेछन् । चाकुको यःमरी ८० रुपैयाँ र खुवाको यःमरी १ सय रुपैयाँमा बिक्री गरिने नेवाः मिसा पुचः कास्कीका अध्यक्ष संगिता बज्रचार्यले बताइन् ।










