नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का उमेदवार रश्मि आचार्य पोखरा–२१ मा मतदाता भेटघाट

नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का उमेदवार रश्मि आचार्य पोखरा–२१ मा मतदाता भेटघाट
२०८२ माघ १८ गते शनिवार ०६:४९

नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का सूर्यध्वजाबहाक उम्मेदवार रश्मि आचार्य पोखरा महानगरपालिका–२१ का बस्ती–बस्तीमा पुगेर मतदाता भेटघाट तथा अन्तरक्रियामा सक्रिय रूपमा जुट्नुभएको छ। चुनावी नारामा सीमित नभई जनताको दैनिकी, समस्या...

नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का सूर्यध्वजाबहाक उम्मेदवार रश्मि आचार्य पोखरा महानगरपालिका–२१ का बस्ती–बस्तीमा पुगेर मतदाता भेटघाट तथा अन्तरक्रियामा सक्रिय रूपमा जुट्नुभएको छ।

चुनावी नारामा सीमित नभई जनताको दैनिकी, समस्या र आवश्यकता बुझ्ने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानले पोखरा–२१ को चुनावी माहोललाई नयाँ उचाइमा पुर्याएको छ। पोखरा–२१ को विकासलाई केवल स्थानीय तहको सीमामा नराखी संसदबाट नीति निर्माण गरेर राज्यलाई व्यवस्थित ढंगले सञ्चालन गर्न के गर्नुपर्छ भन्ने विषयमा मतदातासँग गहिरो संवाद गरिएको छ।

शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी, युवा पलायन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या, सहरी व्यवस्थापनलगायतका विषयमा स्थानीय नागरिकले खुलेर आफ्ना गुनासा र सुझावहरू प्रस्तुत गरेका छन्।

पोखरा–२१ भित्र रहेका ३७ वटा टोल विकास संस्थाअन्तर्गतका १०० भन्दा बढी बस्तीमा पुगेर जनताको आवाज प्रत्यक्ष रूपमा सुन्ने अभियान आजबाट सुरु गरिएको एमाले–२१ का अध्यक्ष तथा निर्वाचन परिचालन कमिटी संयोजक राजेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार, “यो चुनाव केवल भाषण र प्रचारको होइन, जनताको समस्या सुनेर समाधानको स्पष्ट खाका बनाउने चुनाव हो।”

स्थानीयस्तरमा उठेका समस्यालाई व्यवस्थित रूपमा संकलन गरी प्राथमिकता निर्धारण गर्ने, त्यसलाई नीति तथा कार्यक्रममार्फत संसदमा उठाउने र सरकारको माध्यमबाट कार्यान्वयन गराउने रणनीतिका साथ नेकपा एमाले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–२१ निर्वाचनमा होमिएको थापाले स्पष्ट पार्नुभयो।

उम्मेदवार आचार्यले विकास भनेको घोषणामा होइन, कार्यान्वयनमा देखिनुपर्ने बताउँदै पोखरा–२१ लाई योजनाबद्ध, व्यवस्थित र दीर्घकालीन विकासको मार्गमा अघि बढाउन नेकपा (एमाले)सँग स्पष्ट दृष्टि, अनुभव र प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो।

यस घरदैलो जनसंवाद अभियानमार्फत जनताको भरोसा थप सुदृढ बनाउँदै, जनभावनालाई केन्द्रमा राखेर नीति निर्माण गर्ने दृढ संकल्पसहित नेकपा (एमाले) पोखरा–२१ मा व्यापक जनसमर्थन जुटाउँदै अघि बढिरहेको छ। कार्यक्रममा एमाले कास्कीका सचिवालय सदस्य एवम् कास्की क्षेत्र नं. २ का सचिव झपट रानाभाट, एमाले पोखरा महानगर अध्यक्ष जीवन आचार्यलगायत नेताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै एमालेको विकास दृष्टिकोण र प्रतिबद्धता प्रस्ट पारेका थिए।

प्रकाशित मिति २०८२ माघ १८ गते शनिवार ०६:४९
प्रतिक्रिया दिनुहोस्