पोखरा, १४ फागुन/ नेपाली कांग्रेस कास्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पोखरामा विशाल चुनावी आमसभाको आयोजना गर्ने भएको छ।जिल्ला कार्यसमिति कास्कीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार फागुन १५ गते दिउँसो १ बजे अमरसिंह चोक, पोखरामा आमसभा आयोजना गर्न लागिएको हो।
प्रेस विज्ञप्तिअनुसार उक्त आमसभालाई पार्टीका सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मा ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने उद्देश्यले आमसभा आयोजना गर्न लागिएको जनाइएको छ।“बदल्यौ कांग्रेस, बदल्छौँ देश” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस आमसभाको मुख्य उद्देश्य बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिनु रहेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले लोकतान्त्रिक मूल्य र मान्यता, सुशासन, पारदर्शिता, उत्तरदायित्व, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर देशलाई नयाँ दिशातर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।आमसभामा व्यापक जनसहभागिता सुनिश्चित गर्न नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई उपस्थितिका लागि हार्दिक आह्वान गरिएको छ। साथै कार्यक्रमको प्रचार–प्रसार तथा लोकतान्त्रिक बहसलाई सशक्त बनाउन सञ्चारमाध्यमलाई सहयोग गर्न विशेष अनुरोध गरिएको छ।उक्त प्रेस विज्ञप्ति जिल्ला सभापति किशोरदत्त बराल द्वारा जारी गरिएको हो।










