पोखरा । गण्डकी प्रदेश सरकारले २०८३ सालका लागि ३ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै भानु जयन्ती, कोजाग्रत पूर्णिमा र गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभर बिदा दिने जानकारी दिएको हो ।
मन्त्रिपरिषद्को २०८२ चैत ३ गते बसेको बैठकले यी बिदाहरु दिने निर्णय गरेको थियो । यो निर्णय गण्डकी प्रदेशभित्र रहेका संघीय सरकारका कार्यालय, सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा लागु हुने चैत ५ को मितिमा जारी राजपत्रमा उल्लेख छ । प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेर यी थप बिदाहरुको व्यवस्था गरेको हो ।
राजपत्रमा प्रकाशित विवरण अनुसार २०८३ असार २९ गते सोमबार भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा दिइनेछ । त्यसैगरी, २०८३ कात्तिक ८ गते आइतबार कोजाग्रत पूर्णिमा र २०८३ माघ २२ गते शुक्रबार गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको छ ।
‘गण्डकी प्रदेशमा रहेका संघीय सरकारका कार्यालय समेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा संवत २०८३ सालमा बिदा दिने गरी निर्णय भएको छ,’ प्रदेश सचिव ऋषिराज आचार्यले जारी गरेको राजपत्रमा भनिएको छ । प्रदेश सरकारले हरेक वर्ष आफ्नो स्थापना दिवस र स्थानीय महत्वका पर्वहरुमा बिदा दिँदै आएको छ ।










