शिक्षकका पेशागत र शैक्षिक मागहरु राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेको नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलन अन्तरगत मंगलबार देशव्यापी रुपमा विरोध कार्यक्रम सम्पन्र्न गरेको छ । कार्यक्रमको तालिका अनुसार देशका ७ सय ५३ ओटै स्थानीय निकायहरुमा विरोध कार्यक्रम सम्पन्र्न गरेको हो ।
उक्त कार्यक्रम अन्तरगत स्थानीय पालिकाहरुमा मैनबत्ती बालेर सरकारलाई आँखा देख्न भन्दै प्रतीकात्मक रुपमा विरोध जनाएको बताइएको छ । त्यसैगरी कोभिडका कारण मृत्यु हुन पुगेका २ सय ५० भन्दा बढी शिक्षकहरुको संझनामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । महासंघले असार र साउन महिनाभरि सरकार समक्ष आफ्ना मागहरु राख्दै विभिन्न चरणबद्ध देशव्यापी विरोधका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।
ढोरपाटन नगरपालिकामा पनि नेपाल शिक्षक महासंघका प्रतिनिधि, शिक्षकका पेशागत संघ संगठनको संक्रियतामा संयुक्त रुपमा कार्यक्रम सम्पन्न भएको । कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला सदस्य एवं अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष दुर्गा बहादुर भण्डारी, नेपाल शिक्षक संघ ढोरपाटन नगर समितिका संयोजक नवीन जी.सी., एकीकृत अखिल नेपाल शिक्षक संगठन ढोरपाटन नगर समितिका संयोजक शिवलाल सुवेदी लगायतले बोल्नु भएको थियो ।
कर्यक्रममा नेपाल शिक्षक महासंघको केन्द्रले गरेको निर्णय अनुसार देशव्यापी चौथो चरणको कार्यक्रमको बारेमा जानाकारी गराइएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले सम्पूर्ण विद्यालयका शिक्षक कर्मचारीहरुलाई कोभिड विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, शिक्षकका पेशागत हकहितको संरक्षण हुनुपर्ने, विगतमा नेपाल शिक्षक महासंघ र सरकारबीच भएका संझौता र मागहरुको संबोधन हुनुपर्ने, शिक्षक र निजामती कर्मचारीबीचको भेदभावको अन्त्य हुनुपर्ने लगायतको विषयमा जोड दिनुभएको थियो ।
ढोरपाटन नगरपालिकामा पनि शिक्षा क्षेत्रका समस्याहरुलाई समाधान गर्न र शैक्षिक नीति तथा योजना निर्माण गर्दा नेपाल शिक्षक महासंघको प्रतिनिधि र शिक्षकका संघ संगठनहरुलाई समेत सहभागिता गराउनु पर्ने, शिक्षकको सरुवा, दरबन्दी मिलान र पदपूर्तिमा समेत शिक्षकका संघ संगठनको सहभागितामा र निर्णयबाट गरिनु पर्ने लगायतका विषयमा बक्ताहरुले जोड दिनुभएको थियो ।
साथै शिक्षकहरुलाई पेशागत तालिम तथा उत्प्रेरणा मिल्ने खालका कार्यक्रमहरु संचालन गर्नुका साथै शैक्षिक सुधारमा स्थानीय निकायले विशेष ध्यान दिन आग्रह गरिएको थियो ।
कार्यक्रम समापनपछि नेपाल शिक्षक महासंघ र शिक्षकका पेशागत संघ संगठनका प्रतिनिधिहरुले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई उहाँको कार्यकक्षमा भेटी आफ्ना गुनासा र मागहरु राखेका छन् । नगर प्रमुख देवकुमार नेपालीले शिक्षकका मागहरुलाई आफूले सकारात्मक रुपमा लिएको र उक्त मागहरुलाई आफूले प्रदेश तथा केन्द्र सरकारसम्म पुराउने बताउँदै शिक्षकहरुलाई कोभिड विरुद्धको खोपको छिटोभन्दा छिटो व्यवस्थापन गर्नका लागि यसभन्दा अगाडि नै प्रदेश र केन्द्र सरकार समक्ष माग राखिसकेकाले छिटै यसको व्यवस्थापन हुने बताउनु भएको थियो ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो । नेपाल शिक्षक महासंघको ढोरपाटन नगरपालिका स्तरीय आन्दोलन परिचालन समितिका संयोजक पदम छन्त्यालको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन शिक्षक नरिश्वर पाण्डेले गर्नुभएको थियो ।
त्यसैगरी निसीखोला गाउँपालिकामा पनि नेपाल शिक्षक महासंघको चौथो चरणको देशव्यापी आन्दोलनको कार्यक्रममा ऐकेबद्धता जनाइएको छ । शिक्षकका पेशागत संघ संगठनका प्रतिनिधिहरु सहित गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षहरुको उपस्थितिमा निसीखोला गाउँपालिकाको कार्यालयमा विरोध कार्यक्रम सम्पन्र्न भएको छ ।
मंगलबार नै चन्द्रसिंह रामजालीको संयोजकत्वमा ११ सदस्यीय निसीखोला गाउँपालिका स्तरीय शिक्षक आन्दोलन परिचालन समिति समेत गठन गरिएको अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य नवराज आचार्यले बताउनु भएको छ । कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल समक्ष शिक्षक संघ संगठनका प्रतिनिधिहरुले शिक्षकका पेशागत र शैक्षिक मागहरु राख्दै आफ्ना मागहरु केन्द्र सरकार समक्ष पुराउनका लागि अनुरोध गरेका थिए ।
साथै स्थानीय सरकारले समेत स्थानीय तहको शैक्षिक विकासमा सबैसंग सहकार्य गरेर अगाडि बढ्न र शिक्षकका मागहरुलाई संबोधन गर्नका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले शिक्षकहरु साँच्चै नै मर्कामा भएकाले केन्द्र सरकारले ठोस नीति कार्यक्रम नलिएकाले स्थानीय सरकारहरुले पनि शिक्षा क्षेत्रमा सोंचेजस्तो काम गर्न नसकसेको बताउनु भयो । साथै आफ्नो गाउँपालिकाबाट हुने शैक्षिक विकास र शिक्षकका पेशागत एवं शैक्षिक मागहरुलाई संबोधन गर्न आफू सधै सकारात्मक रहेको र सबैसंगै सहकार्य गरेको बताउनु भएको छ ।
निसीखोला गाउँपालिका स्तरीय शिक्षक आन्दोलन परिचालन समितिका संयोजक चन्द्रसिंह रामजालीको अध्यक्षता रहेको उक्त कार्यक्रममा भूमिराज आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको संचालन उमानन्द रेग्मीले गर्नुभएको थियो ।










