सद्भाव, शान्ति र राष्ट्रिय एकताका लागि एमाले वडा कमिटी अध्यक्ष राजेन्द्र थापाको विशेष अपिल

सद्भाव, शान्ति र राष्ट्रिय एकताका लागि एमाले वडा कमिटी अध्यक्ष राजेन्द्र थापाको विशेष अपिल
२०८३ साउन १४ गते बिहिबार ०७:३९

पोखरा, साउन १४/ देशमा विकसित पछिल्ला जटिल घटनाक्रम र बढ्दो संवेदनशीलताका बीच नेकपा ९एमाले० पोखरा–२१ का वडा कमिटी अध्यक्ष राजेन्द्र बहादुर थापाले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नेपालीमा विशेष अपिल...

पोखरा, साउन १४/ देशमा विकसित पछिल्ला जटिल घटनाक्रम र बढ्दो संवेदनशीलताका बीच नेकपा ९एमाले० पोखरा–२१ का वडा कमिटी अध्यक्ष राजेन्द्र बहादुर थापाले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नेपालीमा विशेष अपिल गरेका छन्।

उनले आफ्नो आधिकारिक फेसबुक स्टाटसमार्फत राष्ट्र, राष्ट्रियता, नागरिकको सुरक्षा तथा सामाजिक सद्भावलाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गर्दै संकटको समयमा संयम, सहिष्णुता र जिम्मेवारी प्रदर्शन गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

हालैका दुःखद घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

थापाले नेपाल विभिन्न जाति, धर्म, भाषा र संस्कृतिले बनेको साझा फूलबारी भएको उल्लेख गर्दै सामाजिक सद्भाव खलबल्याउने तथा धार्मिक वा साम्प्रदायिक विभाजन सिर्जना गर्ने कुनै पनि गतिविधिलाई अस्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार नेपालको विविधता नै राष्ट्रिय पहिचान र शक्ति हो।

सरकारलाई सम्बोधन गर्दै उनले देशको शान्ति–सुरक्षा, कानुनी शासन र जनविश्वासलाई केन्द्रमा राखी आवश्यक समीक्षा तथा समयानुकूल निर्णय लिन ढिलाइ नगर्न आग्रह गरेका छन्। उनका अनुसार संकटको समयमा प्रभावकारी निर्णय र जिम्मेवार नेतृत्वले नै जनताको विश्वास अझ सुदृढ बनाउँछ।

बुटवलमा हिन्दु र मुस्लिम समुदायले संयुक्त रूपमा निकालेको सद्भाव र्‍यालीको प्रशंसा गर्दै थापाले त्यसलाई सम्पूर्ण नेपालीका लागि प्रेरणादायी उदाहरणको रूपमा उल्लेख गरेका छन्। उनले सबैलाई संयमित रहन, अफवाहको पछि नलाग्न तथा घृणाभन्दा सद्भाव र भाइचाराको भावना फैलाउन आह्वान गरेका छन्।

स्टाटसको अन्त्यमा उनले भनेका छन्, ूराष्ट्रहितभन्दा माथि कुनै पद, व्यक्ति वा दल हुन सक्दैन। आजको आवश्यकता आरोप–प्रत्यारोप होइन, राष्ट्रिय एकता, सामाजिक सद्भाव र जिम्मेवार नेतृत्व हो। आउनुहोस्, शान्त, सुरक्षित र समुन्नत नेपाल निर्माणका लागि सबै नेपाली एकताबद्ध बनौँ।ू

प्रकाशित मिति २०८३ साउन १४ गते बिहिबार ०७:३९
प्रतिक्रिया दिनुहोस्