आईएनएफ नेपालको सेवा यात्रा ७४ वर्षमा प्रवेश

आईएनएफ नेपालको सेवा यात्रा ७४ वर्षमा प्रवेश
२०८३ मङ्सिर १ गते सोमबार ०७:१८

पोखरा, कार्तिक ३०/ इन्टरनेशनल नेपाल फेलोसिप (आई एन एफ) नेपालले आफ्नो स्थापनाको ७४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउँदैछ। यस वर्ष संस्थाले ‘प्रेम र सेवाको जीवन्त विरासत’ भन्ने नाराका साथ वार्षिकोत्सव मनाउन लागेको हो। वार्षिकोत्सवका...

पोखरा, कार्तिक ३०/ इन्टरनेशनल नेपाल फेलोसिप (आई एन एफ) नेपालले आफ्नो स्थापनाको ७४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउँदैछ। यस वर्ष संस्थाले ‘प्रेम र सेवाको जीवन्त विरासत’ भन्ने नाराका साथ वार्षिकोत्सव मनाउन लागेको हो। वार्षिकोत्सवका अवसरमा संस्थाका विभिन्न कार्यक्षेत्रमा रहेका अस्पताल तथा कार्यालयहरूमा आई एन एफ दिवस मनाउन लागिएको संस्थाले जनाएको छ । संस्थाले ७४ वर्षको यात्रालाई केवल संस्थागत विकास र विस्तारका रूपमा मात्र नभई सेवा, करुणामय हेरचाह र सेवाबाट वञ्चित समुदायप्रतिको समर्पणको यात्राका रूपमा लिएको छ।

सन् १९५२ अर्थात् विक्रम संवत् २००९ सालमा पोखरामा स्थापना भएको आई एन एफ नेपालले एउटा सानो औषधालयबाट स्वास्थ्य सेवा सुरु गरेको थियो। संस्थाले विक्रम संवत् २०१० सालमा पोखराको टुँडिखेलमा शाइनिङ अस्पताल स्थापना गरेको थियो भने २०१४ सालमा पोखरा–१५ नयाँगाउँमा हरियोखर्क कुष्ठरोग विशेषज्ञ अस्पताल स्थापना गरेको थियो। शाइनिङ अस्पताल पश्चिम नेपालको पहिलो अस्पतालका रूपमा परिचित छ।स्थापनाकालदेखि नै स्वास्थ्य सेवासँगै समुदाय विकासका क्षेत्रमा सक्रिय संस्थाले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका–१, सिमपानीमा रहेको छ।

आई एन एफ नेपालले हाल स्वास्थ्य सेवा र सामुदायिक विकास गरी दुई प्रमुख क्षेत्रमा काम गर्दै आएको छ। स्वास्थ्य सेवाअन्तर्गत पोखरा–१५ नयाँगाउँस्थित १०० शय्याको हरियोखर्क अस्पताल, बाँके र सुर्खेतस्थित २५÷२५ शय्याका शाइनिङ अस्पताल तथा हरियोखर्क अस्पताल परिसरमा रहेको १६ शय्याको कान केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
हरियोखर्क अस्पतालले कुष्ठरोग, छालारोग, मेरुदण्डको चोट, हाडजोर्नी तथा नसा, मस्तिष्क पक्षघात, अपाङ्गता, प्यालिएटिभ केयर, फिजियोथेरापी तथा अकुपेसनल थेरापीलगायतका सेवा प्रदान गर्दै आएको छ। साथै कृत्रिम अंग प्रत्यारोपण र पुनःस्थापनामार्फत अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउन योगदान पु¥याउँदै आएको छ।
आर्थिक वर्ष २०८२÷८३ मा संस्थाका अस्पतालमार्फत एक लाख २४ हजार ६४५ जनाले बहिरङ्ग सेवा र एक हजार ८३० जनाले अन्तरङ्ग सेवा प्राप्त गरेका छन्। यस अवधिमा ३२६ जना नयाँ कुष्ठरोग प्रभावित व्यक्ति पहिचान गरिएको छ भने ३९० जनालाई कुष्ठरोगसम्बन्धी अन्तरङ्ग सेवा प्रदान गरिएको छ।

त्यसैगरी एक हजार ३८१ वटा ठूला तथा साना शल्यक्रिया सम्पन्न गरिएको छ। तीमध्ये ७७ वटा फिस्टुलासम्बन्धी शल्यक्रिया रहेका छन्। अस्पतालले ४० हजार १९७ फिजियोथेरापी तथा अकुपेसनल थेरापी सेवा सत्र सञ्चालन गरेको छ भने छ हजार ७९ जनालाई निःशुल्क स्वास्थ्य सेवा र सात हजार ७६० पटक बिरामी परामर्श सेवा प्रदान गरेको छ।
सामुदायिक विकासतर्फ आई एन एफ नेपालले बाँके, सुर्खेत, बाजुरा, मुगु, जुम्ला, कालिकोट, दाङ, रोल्पा, कपिलवस्तु र जाजरकोटलगायतका जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ। समुदायको नेतृत्व र सहभागितामा आधारित कार्यक्रममार्फत मातृ तथा नवजात शिशु स्वास्थ्य, समुदायमा आधारित पुनःस्थापना, आयआर्जन, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण र मानव बेचबिखनविरुद्धका गतिविधि सञ्चालन हुँदै आएका छन्।
आर्थिक वर्ष २०८२÷८३ मा सामुदायिक विकास कार्यक्रमअन्तर्गत दुर्गम जिल्लामा ४ सय ८४ वटा स्वावलम्बन समूह गठन तथा सहजीकरण गरिएको छ। मुगुमा दुई र कालिकोटमा एक गरी तीनवटा सहकारी संस्था दर्ता भएका छन्, जसमा एक हजार १९३ जना सदस्य आबद्ध छन्।

त्यस्तै, १० हजार ४ सय ६० जना स्वावलम्बन समूहका सदस्यमार्फत समुदायको अगुवाइमा तयार गरिएका दुई हजार ५ सय ३६ वटा कार्ययोजना कार्यान्वयन गरिएको छ। ३ सय १ घरधुरीलाई सुधारिएको फलामे चुलो वितरण, ३१ वटा सिँचाइ कुलो निर्माण गरी एक हजार ६९७ घरधुरीलाई लाभान्वित तथा चार हजार ७ सय ४५ जनालाई मानव अधिकार र लैङ्गिकतासम्बन्धी तालिम प्रदान गरिएको संस्थाले जनाएको छ।यसैगरी एक हजार ४सय ९७ घरधुरीलाई विपद्का समयमा आपत्कालीन सहयोग पु¥याइएको, ४सय ६८ जना विद्यार्थीलाई यौनिकता शिक्षा प्रदान गरिएको र १० वटा विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गरिएको छ। अपाङ्गता भएका १सय५३ जनालाई निर्णय प्रक्रियासम्बन्धी मञ्चमा सहभागी गराउनुका साथै १६ वटा अपाङ्गतामैत्री पूर्वाधार निर्माण गरिएको छ।कुष्ठरोग, क्षयरोग, एचआईभी, अपाङ्गता, लागूऔषध दुव्र्यसन तथा समुदायमा आधारित पुनःस्थापनाका क्षेत्रमा लामो अनुभव हासिल गरेको संस्थाले समाजबाट बहिष्कृत, सीमान्तकृत, आर्थिक रूपमा विपन्न तथा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य र जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्दै आएको छ।

वार्षिकोत्सवका अवसरमा पारेर संस्थाले सोमवार पत्रकार सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा आई एन एफ नेपालका कार्यक्रम डेभलपमेन्ट लिडर सौरभ शर्मा, डाक्टर अरुण बुढा, मार्केटिङ प्रतिनिधि सुमन राई तथा सूचना अधिकारी एकदेव देवकोटा र पत्रकारको सहभागिता रहेको थियो। कार्यक्रममा डा. अरुण बुढाले संस्थाको भिजन, मिसन तथा सेवाका उद्देश्यबारे जानकारी गराएका थिए। प्रोग्राम डेभलपमेन्ट लिडर शर्माले संस्थाको ७४ वर्षे यात्रा सेवा, समर्पण र मानवीय संवेदनासँग जोडिएको महत्वपूर्ण इतिहास भएको बताए ।छलफल तथा अन्तरक्रिया पश्चात अस्पतालको अवलोकन समेत गरिएको थियो ।

हाल संस्थामा करिब चार सय कर्मचारी तथा केही विदेशी स्वयंसेवक कार्यरत छन्। नेपाल सरकार, समाज कल्याण परिषद्, दातृ निकाय, आई एन एफ इन्टरनेसनल तथा विभिन्न शुभेच्छुकको सहयोगमा संस्थाले स्वास्थ्य र सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले आफ्नो ७४ औँ वार्षिकोत्सव मंगलवार अस्पताल परिसरमा मनाउन लागेको छ । ७४ वर्षको लामो यात्रामा सेवा र मानवीय सहयोगलाई मूल आधार बनाएको आई एन एफ नेपालले आगामी दिनमा पनि स्वास्थ्य सेवाको पहुँच विस्तार, अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना, सीमान्तकृत समुदायको सशक्तीकरण र दिगो सामुदायिक विकासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति २०८३ मङ्सिर १ गते सोमबार ०७:१८
प्रतिक्रिया दिनुहोस्