पोखरा, कार्तिक २१/ पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार प्रतियोगिता सम्पन्न भएको हो।मञ्चले नियमित रूपमा सञ्चालन गर्दै आएको साप्ताहिक तथा मासिक दौड कार्यक्रम अन्तर्गत २२औँ श्रृङ्गखलाको प्रतियोगिता पोखरा रङ्गशालामा आयोजना गरिएको रेस डाइरेक्टर तेजबहादुर गुरुङले जानकारी दिए ।
पोखरा रङ्गशालाको फुटबल मैदानबाट सुरु भएको दौड पोखराका विभिन्न स्थानको परिक्रमा गरी पुनः रङ्गशालामै पुगेर सम्पन्न भएको थियो। प्रतियोगिताको खुला पुरुषतर्फ पोखरा–६ का महेन्द्र मगर प्रथम, पोखरा–११ का सुजन थापा द्वितीय र पोखरा–१५ का राजु शर्मा तृतीय भए।त्यस्तै, खुला महिलातर्फ पोखरा–७ की नितु तामाङ प्रथम, दुलेगौँडाकी सपना परियार द्वितीय र पोखरा–१ बगरकी सेयता मास्के तृतीय हुन सफल भए।
१६ वर्षमुनिको छात्रतर्फ त्रिभुवन शान्ति माध्यमिक विद्यालयका सक्षम भुजेल प्रथम, अमरसिंह माध्यमिक विद्यालयका अनमोल सुनदास द्वितीय र डाइनमिक एकेडेमीका विजेन राना तृतीय भए। शिशु निकेतनका आविष्कार क्षेत्रीले चौथो स्थान हासिल गरे।यसैगरी, १६ वर्षमुनिको छात्रातर्फ आब्या क्लबकी समृद्धि मर्शानी प्रथम, ढुङ्गेसाँघु स्कुलकी स्वयक्षा विक द्वितीय र आब्या क्लबकी दिव्या गिरी तृतीय भए। आब्या क्लबकै प्रकृति श्रेष्ठले चौथो स्थान हासिल गरिन्।
विजेता धावकहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा मञ्चका अक्षयकोषदाता डायमण्ड बुद्धिस्ट समाज यूकेका निवर्तमान अध्यक्ष योगेश गुरुङ, पोखरा म्याराथन अमेरिकाका संयोजक तथा अक्षयकोषदाता सोम गुरुङ, पोखरेली मञ्च यूकेका सल्लाहकार वाचस्पति रेग्मी, १३औँ एसियन गेम्सकी कास्य पदक विजेता तेक्वान्दो खेलाडी सपना मल्ल, पूर्व एथलेटिक्स खेलाडी लक्ष्मण कार्की, मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ र निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीलगायतले मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगेश गुरुङले खेलकुदको विकासका लागि नियमित प्रतियोगिता आवश्यक रहेको बताए। नेपाल भूतपूर्व खेलाडी मञ्चले सञ्चालन गर्दै आएको दौड कार्यक्रमले नयाँ खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन र उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास उनले व्यक्त गरे।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सङ्घसंस्था, सहयोगी तथा सहभागी धावकहरूलाई धन्यवाद व्यक्त गरे। प्रतियोगितामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सहयोगी संस्थाका रूपमा रहेको थियो।मञ्चका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेश पौडेलले गरेका थिए।
यसअघि भदौ ६ गते पोखरा–११ मा २०औँ शृङ्खलाअन्तर्गत दौड प्रतियोगिता आयोजना गरिएको थियो भने असोज ३ गते पोखरा रङ्गशालामा २१औँ शृङ्खलाको दौड सम्पन्न भएको थियो। मञ्चले आगामी मङ्सिर महिनाको पहिलो शनिबार अर्को दौड प्रतियोगिता आयोजना गर्ने मञ्चले जनाएको छ ।










