बागलुङ : सडक निर्माण अलपत्र छाड्दा आफुहरुले सास्ती खेप्नु परेको भन्दै बागलुङ बिहुँको युवा आन्दोलित बनेका छन् । बागलुङ अक्षेतेदेखि बिहुँसम्मको खण्ड निर्माणको जिम्मा लिएको एमपी/एससिएफ/इसीसी जेभीले लामो समयदेखि सडक अलपत्र पारेका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् ।
हरेक पटक असारको समयमा केही काम गरे जस्तो गर्ने र पैसा निकासा गरेर खाने तर काम भने जस्ताको त्यस्तै रहने गरेको भन्दै स्थानीय युवा आन्दोलित बनेका हुन् । उनीहरुले निर्माण कम्पनी विरुद्ध आन्दोलन सुरु गरेपछि निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयबीच वैशाख भित्र कालोपत्रे गर्नेगरी समझदारी भएको छ । निर्माण कम्पनीको तर्फबाट अहिले त्यहाँ काम गरिरहेका श्रेष्ठ निर्माण तथा ढुवानी सेवा दोलखाका रामकाजी श्रेष्ठ, काठेखोला वडा नम्बर ५ का वडाध्यक्ष शिव कँडेल, प्रहरी चौकी बिहुँ÷धम्जाका इन्चार्ज र स्थानीय युवाको तर्फबाट दिनेश कँडेलले सहमतीमा हस्ताक्षर गरेका छन् । हरेक महिना कामको प्रगती देखिनेगरी काम गर्ने शर्तका आधारमा वैशाखसम्मको समय अवधि दिईएको उनले बताए ।
‘अहिले बर्खाको समय छ, सडक कालोपत्रे गर्ने कुरा बर्खाको समयमा सम्भव पनि हुँदैन,’कँडेलले भने,‘हामीले प्रत्येक महिनाको काम देखिनेगरी काम गर्नेगरी समय दिएका छौं । त्यसमा गाउँपालिकाका ईन्जिनियरहरुले निरीक्षण गर्नुहुन्छ, वडा कार्यालयमा रिपोर्ट आउँछ त्यस अनुसार काम अगाडि बढ्छ ।’
यदि निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न नगरेको खण्डमा निर्माण सामग्रीदेखि उपकरणहरु समेत स्थानीयले जफत गर्नेगरी सहमती भएको उनले बताए । ‘मौसमले साथ दिएको खण्डमा दुई तीन महिनामा सकिने काम छ,’ उनी भन्छन्,‘ उनले भने,‘हरेक महिना कामको प्रगति देखिनुपर्छ ।’
उक्त निर्माण कम्पनीले बिहुँ खण्डमा १२ किलोमिटर सडक कालोपत्रे गर्नेगरी ठेक्का मार्फत जिम्मा दिएको थियो । तर पटक पटक म्याद थप्ने र काम नगर्ने प्रवृत्तिका कारण अहिले पनि सडकको समस्या उस्तै छ । सडक निर्माणको अवस्था बारेमा स्थानीय तह, स्थानीय प्रशासनलाई घचघच्याउँदा पनि उनीहरुले आफुहरुको काबुभन्दा बाहिर भएको भनेपछि आफुहरु आन्दोलित हुनु परेको युवाहरुले बताएका छन् ।
चार दिन अघि स्थानीयले विज्ञप्ती जारी गरेर निर्माण कम्पनीलाई सम्पर्कमा आउने चेतावनी दिएका थिए । लामा समयदेखि सडक निर्माण जिम्मा लिएर अलपत्र पारेका निर्माण कम्पनीले गत मंसिरमा जिल्ला प्रशासन कार्यालयमा ६ महिना भित्र निर्माण सम्पन्न गर्ने भनि लिखित सम्झौता गरेका थिए । उनीहरुले जेठ मसान्तभित्र सडक कालोपत्रे गर्ने लिखित गरे पनि यो अवधीका तिब्र गतिले काम नहुँदा सडक निर्माणको काम अझै अलपत्र छ । बागलुङ—तल्लो बिहुँ खण्डको निर्माण जिम्मा लिएको सिद्धिसाई प्रकाश कन्ट्रक्सन जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाही र उपल्लो बिहुँ खण्डका एमपी एसिएफ इसिसी जेभीका आधिकारिक प्रतिनिधि सुर्यबहादुर खड्काले हस्ताक्षर गरेका थिए ।
निर्माण कम्पनीले लोकमार्गको निर्माण ६ महिनामा पूरा गर्ने प्रतिवद्धता जनाएपछि बागलुङ—बिहुँ खण्ड दैनिक ६ घण्टा सडक अवरुद्ध गरेर काम समेत सुरु भएको थियो । २० दिनसमम दैनिक ६ घण्टा सडक अवरुद्ध गरेर काम गरे पनि त्यसले मूत रुप भने लिन सकेन । निर्माण कम्पनीले ६ महिनामा काम सक्ने भनेर सहमती गरेर गएपछि सुरुवाती दिनमा तिब्र गतिमा काम नगर्दा समस्या भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुस्माका प्रमुख मेघराज मरासिनीले बताए । ‘सुरुका दिनदेखि नै तिब्र गतिमा काम गरेको भए यो समस्या हुने थिएन,’ उनले भने,‘सुरुका दिनमा खासै काम गरेनन्, हामीले ताकेता गरेपछि पछिल्लो समय राम्रो काम भैरहेको थियो । यो वर्ष छिटो बर्खा लाग्यो काम अगाडी बढ्न सकेन ।’
दैनिक पानी पर्ने गरेका कारण अहिले कार्यालयले नै काम गर्न रोकेको उनी बताउँछन् । ‘अहिले दैनिक पानी परिरहेको छ, यस्तोमा कालोपत्रेका काम अगाडि बढ्ने कुरै भएन त्यही भएर हामीले नै काम रोकेका छौं,’ उनले भने,‘मौसम सुधार हुँदासाथ काम सुरु गर्नेगरी निर्माण कम्पनीहरु तयारी अवस्थामा रहेका छन् । अहिले उनीहरु उपकरण र मजदुर पनि ल्याएर राखेका छन् ।’ सडक निर्माणको गुणस्तरमा सम्झौता गर्न नसकिने उनको भनाई छ । बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पनि प्रशासनमा भएको सम्झौताको विषयलाई पटक पटक निर्माण कम्पनीले झकझाउने काम गर्दा पनि चाँडै वर्षात सुरु भएका कारण काम पूरा हुन नसकेको बताए ।
‘माथिल्लो बिहुँ खण्डमा केही सडक कालोपत्रे गर्ने चरणमा पुगेको थियो, तर यसपटक चाँडै बर्षात सुरु भयो, त्यसले गर्दा काममा समस्या पारेको छ,’ उनले भने । वर्षात रोकिना साथ काम पूरा गर्नेगरी निर्माण कम्पनीलाई तयारी रहन निर्देशन दिएको उनले बताए । ‘वर्षात रोकिएपछि कम्तीमा दशैंसम्म काम पूरा हुन्छ कि भन्ने हाम्रो आशा हो,’ उनले भने,‘धेरै काम भएको पनि थियो । मौसम ठिक भएका काम अगाडि बढ्छ ।’
२०५६ सालमा ट्रयाक खुलेको बागलुङ—बिहुँ सडक खण्डमा अहिले पनि समस्या जिउँको तिउँ रहनु लाजमर्दो विषय बनेको छ ।










