हटिया स्वास्थ्य चौकीमा गरियो ‘उल्टो बच्चा’को नर्मल डेलिभरी

हटिया स्वास्थ्य चौकीमा गरियो ‘उल्टो बच्चा’को नर्मल डेलिभरी
२०७८ असार २५ गते शुक्रबार ०७:५६

बागलुङ जिल्लाको गलकोट नगरपालिका ३ की सरिता परियारलाई प्रसूति व्यथा लागिसकेको थियो । भिडियो एक्स–रे गरेर हेर्दा पेटमा बच्चा उल्टो देखियो । तत्कालै बागलुङ वा पोखरा पठाएर अपरेसन गर्नुपर्ने अवस्थामा हुनुहुन्थ्यो उहाँ । बागलुङ आइपुग्न...

बागलुङ जिल्लाको गलकोट नगरपालिका ३ की सरिता परियारलाई प्रसूति व्यथा लागिसकेको थियो । भिडियो एक्स–रे गरेर हेर्दा पेटमा बच्चा उल्टो देखियो ।
तत्कालै बागलुङ वा पोखरा पठाएर अपरेसन गर्नुपर्ने अवस्थामा हुनुहुन्थ्यो उहाँ । बागलुङ आइपुग्न पनि ४÷५ घण्टा लाग्ने १ सडकमा पहिरो र कोरोना संक्रमणका कारण तत्काल टाढासम्म जाने अवस्था थिएन । टाढा लैजान सक्ने अवस्था नरहेपछि हटियास्थित स्वास्थ्य चौकीमै बच्चा निकालियो ।
आर्थिक अवस्था कमजोर भएकोले परियार धेरै पैसा खर्चेर सदरमुकाम वा पोखरा जान सक्ने अवस्थाकी नरहेको बताईन्छ । हटिया स्वास्थ्य चौकीमा गतवर्षदेखि आधुनिक र अत्यावश्यक उपकरण ल्याउन थालिएको छ ।
उपकरण र जनशक्तिमा विश्वास गर्दै स्वास्थ्यचौकीका प्रमुख डिलु सुवेदीले तालिमप्राप्त नर्स र अनमीलाई लगाएर शिशु निकाल्ने निर्णय गरे । नर्स र अनमी घरमै पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे बुझेकाले केही सजिलो भयो । शल्यक्रिया सफल भयो, आमा र शिशु दुवै सुरक्षित रहन सके ।
छन्त्याल फेयरमेड फाउन्डेसनको तर्फबाट गलकोटस्थित हटिया स्वास्थ्य चौकीमा कार्यरत अञ्जना छन्त्यालका अनुसार गलकोट नगरपालिकाले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामै सुत्केरी भएमा सुत्केरी खर्चसमेत दिने नीति बनाएको छ ।
नियमित स्वास्थ्य जाँच र स्वास्थ्य संस्थामै सुत्केरी भएमा नगरपालिकाले ४ हजार ६ सय रुपैयाँ प्रोत्साहन भत्ता दिन्छ । परियारले उक्त रकम समेत पाउनुभएको छ । नेपाल सरकारले दिने २ हजार ८ सयसमेत पाएपछि परियारलाई पोषण खर्च मिलेको छ । हटिया स्वास्थ्य चौकीमा सुविधा सम्पन्न ल्याब पनि स्थापना भएको छ । यो ल्याबमा धौलागिरि अस्पतालमा पाइने सेवा जत्तिकै छ । ल्याबमा जटिल रोगको परीक्षण सहजै गरिन्छ ।

चालु वर्षमा हटिया स्वास्थ्य चौकीमा ७ हजार जनाले स्वास्थ्य सेवा लिएका छन् । १ सय ५० महिलाले प्रसूति सेवा लिएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो । ‘अस्पतालबाहेक स्वास्थ्यचौकी तहमा हामीले धेरैलाई सेवा दिएका छौं,’ सुवेदीले भन्नुभयो , ‘अपरेसन सेवा नभएपनि जटिल प्रकारका सुत्केरी पनि यहाँ सम्भव भएका छन् । ५ केजीको बच्चा समेत सामान्य अवस्थामै जन्मेको उनले बताए । हटियाकै जमुना परियारले ५ केजीको बच्चा स्वास्थ्य चौकीमै जन्माउनुभएको थियो ।

गलकोट नगरपालिका १० पाण्डवखानी, वडा नं। ७ को मल्म, वडा नं। १ को दुदिलाभाटी लगायत अधिकांश वडामा लाखौंको सामान र अत्यावश्यक उपकरण भित्रिएका छन् । ती उपकरण र दक्ष स्वास्थ्यकर्मीसमेत बसेर नियमित उपचार, सेवा प्रवाहमा समेत साथ दिएपछि काममा सहज भएको सुवेदीको भनाइ छ ।

प्रकाशित मिति २०७८ असार २५ गते शुक्रबार ०७:५६
प्रतिक्रिया दिनुहोस्