गाउँ बस्तीमा भर्चुअल कक्षा चलाउनै समस्या...
जिल्ला कोभिड संकट व्यवस्थापन समिति बाग्लुङको बैठकले गत साता देखिनै बैकल्पिक सिकाइबाट कक्षा चलाउन बिद्यालयलाई निर्देशन दिएको छ ।
वैकल्पिक भित्र भर्चुअल कक्षा मात्र चलाउन सक्ने प्रावधान राखिएको छ । कक्षा कोठामा राखेर पढाउन पूर्ण प्रतिबन्ध लगाइएपछि शिक्षकहरु अन्यौलमा छन् । उनीहरुले कसरी कक्षा चलाउने भन्ने सोच्न सकेका छैनन् ।
विद्यालयमा दुइ सिफ्ट गर्ने, आधा–आधा बिद्यार्थी बोलाएर पढाउने जस्ता प्रकृया थाल्न खोज्दा प्रशासन र प्रहरीबाट अबरोध भएको शिक्षकहरुले गुनासो गरेका छन् । ‘बैकल्पिक शिक्षा भनेको भर्चुअल कक्षा मात्रै हो भन्ने धारणा राखेजस्तो देखियो’ बाग्लुङका एक शिक्षकले भन्नुभयो, ‘सामाजिक दुरी कायम गरेर पढाउन खोज्दा प्रशासनले रोक्यो ।’ शिक्षकलाई नै प्रहरीले नियन्त्रणमा लिएर कक्षा नचलाउन समेत भनेको अभिभावकले बताएका छन् ।
ग्रामीण क्षेत्रमा अधिकांस अभिभावकले स्मार्टफोन चलाउन नसक्ने र शिक्षकको समेत ल्यापटप नभएकोले भर्चुअल कक्षा प्रभावकारी नहुने शिक्षकहरु बताउँछन् । ‘बिपन्न परिवारमा स्मार्ट फोन पनि छैन, कसरी सबैलाई समान व्यवहार गर्न सकिन्छ ?’ बुर्तिबाङ स्थित उत्तरगँगा नमुना माध्यमिक विद्यालयलका शिक्षक किरण पौडेलले भन्नुभयो, ‘यो वर्ष कक्षा सुरु गर्न सकिएनको छैन ।’
मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र टोलटोलमा सानो समूहमा पढाउँदा बालबालिकाले सिक्ने र कोरोना संक्रमणबाट पनि बचाउन सकिने शिक्षकहरुको भनाई छ । पमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने कोरोनाका संक्रमित धेरै भएकोले भर्चुअल पढाइ गर्न भनेको बताउनुभयो । भीड गर्दा जोखिम हुने उहाँको भनाइ छ । धरै अभिभावकहरुले भने आफ्ना बालबच्चाहरु लाइ मोबाईलको लत नै बसेकोले छुटा्उन समस्या परेको गुनासो गरेका छन् । विशेष गरि सहर बजारमा बस्ने बालिबालिका विभिन्न प्रकारका गेमहरु पपजी,फ्रि फायर लगायतका खेल्ने बढि देखिन्छन् ।
ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ स्थित ३ वटै बोडिङ स्कुलले अनलाईन कक्षा सुरु गरिसकेका छन् । स साना बाल बच्चाहरुलाई अनलाईन कक्षा पढाउनको निम्ति अभिभावकले मोबाईलको जोहो गरेपनि अनलाईन कक्षा त्यत्ति प्रभावकारी नपाएको एक अभिभावकले गुनासो गर्नुभयो । बालबच्चा भुल्ने बाटो त भएको छ तर साना कक्षाका बालबच्चाले बुझ्न र शिक्षक शिक्षिकाहरुलाई बुझाउन पनि गाह्रो परेको बताउनुभयो । जिल्लाका अन्य स्थानिय तहहरुमा पनि सोहि प्रकारका समस्या देखा परेका छन् ।
अधिकांस ग्रामीण तहमा पटकपटक विद्युत र इन्टरनेटको नेटवर्क नहुने र अभिभावकसँग स्मार्ट फोन नभएको अबस्थामा बालबालिकामै बिभेदको अबस्था सिर्जना हुने, पढाइबाट बिद्यार्थी छुट्ने खतरा बढेको शिक्षकहरुले टिप्पणी गरेका छन् । प्रशासनको आदेश र स्थानीय बाध्यताले बालबालिकाले पढ्ने अबसर नपाएको ढोरपाटन ३ स्थित देउराली प्राथमिक विद्यालयका प्रध्यानाध्यापक श्याम बहादुर बोहराले गुनासो गर्नुभयो । ‘पोहोर साल केहि सिकाइ भएको थियो, तर यो बर्ष टोल सिकाइ ढीला भैसक्यो’ बोहराले भन्नुभयो, ‘स्वास्थ्य मापदण्ड अपनाएर पढाउनै पर्छ ।’ माथिल्लो कक्षामा भर्चुअल विधि उपयोगी भएपनि प्राथमिक तहका बालबालिकालाई भने गाह्रो हुने उहाँको भनाई छ ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायले स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ संचालन गर्दा राम्रो हुने सुझाव दिएको बताउनुभयो । ‘बैठकमा पनि मैले सानो समूह बनाउने, टोल–टोलमा पढाउने भनेको छु’ उपाध्यायले भन्नुभयो, ‘शिक्षक साथीहरुको पनि यस्तै सुझाव आएको छ ।’ ग्रामीण तहका प्राथमिक कक्षाहरु सानो समूहमा कक्षा कोठामै पढाउन सकिने उहाँले बताउनुभयो । अधिकांस प्राविमा १५ देखि २० तथा केहीमा मात्रै ५० जना सम्म बालबालिका छन् । उनीहरुलाई पढाउँदा सानो समूह हुने भएकोले समस्या नपर्ने उहाँले जानकारी दिनुभयो ।










