
रिसाउनु हरेक व्यक्तिको प्राकृतिक स्वभाव हो । व्यक्ति पिच्छे रिस पनि फरक–फरक हुन्छन् । व्यक्ति मात्र होइन पेशापिच्छे पनि रिस फरक–फरक हुन्छन् । कतिपयले आफ्नो रिस स्पष्ट देखाउने गर्छन् । आफूसहित अरूलाई पनि हानि गर्ने खालका हुन्छन् । तर, कतिपयले भने आफ्नो रिसलाई नियन्त्रणमा राख्न पनि सक्षम हुन्छन् ।
चाहे इन्जिनियर होस्, डाक्टर होस्, लेखक होस्, व्यापारी होस्, धनी होस् या गरिब । सबैलाई रिस उठ्छ । यदि पेशाकै हिसाबले रिसाहा स्वभावको कुरा गर्ने हो भने म स्वयम् एक इन्जिनियर भएको नाताले इन्जिनियरिङ पेशामा आबद्ध इन्जिनियरहरू किन रिसाहा हुन्छन् भन्नेबारे आफ्नो अनुभव बताउन सक्छु ।
इन्जिनियरहरू तार्किक, बौद्धिक र समस्याको समाधान गर्न सक्षम हुन्छन् । यसमा कुनै शंका छैन । तर, कहिलेकाहीँ इन्जिनियरहरू रिसाहा पनि हुन्छन् । इन्जिनियरिङ पेशामा आबद्ध महिला र पुरुषको रिस पनि फरक हुन्छ । उमेरअनुसार पनि फरक पर्र्छ । महिला अलिक चाँडै रिसाउँछन् र चाडै शान्त हुन्छन् भने पुरुष सहकर्मीहरू कतिपय अवस्थामा छिट्टै र कतिपय अवस्थामा ढिला रिसाउने हुन्छन् । पुरुषहरू चाँडो रिसाए पनि ढिलो रिसाए पनि महिलाको तुलनामा हत्तपत्त रिसबाट शान्त भने हुँदैनन् ।
महिला इन्जिनियरहरू कार्य क्षेत्रमा हुने पक्षपात, लैंगिक विभेद, साँघुरो सोच, घरायसी आदिका कारण बढी र छिटो रिसाउने हुन्छन् भने पुरुष इन्जिनियरहरू आफ्नो कामको दबाब, कम तलब, आफ्नो कार्यको अवधारणा अरूले चोरेको खण्डमा, सहकर्मीहरूसँग आफ्नो विचार नमिलेको खण्डमा, आफूले चाहेको पूरा नभएको र कसैले अस्वीकार गरेको खण्डमा बढी रिसाउने गर्छन् । इन्जिनियरहरू आफ्नो कामका कारण कहिलेकाहीँ दिक्क हुँदा अन्य व्यक्तिसँग रिस पोख्ने गर्छन् । र, पुरुष इन्जिनियरहरूको रिस शान्त पार्न बढी समय लाग्छ । जटिल हुन्छ ।
रिस शान्त पार्ने तरिका
चाहे पुरुष इन्जिनियरहरू होउन् या महिला इन्जिनियरहरू, रिसले जोसँग जति नै आगो भए पनि उनीहरूले आफूले बनाएका भवन, पुल, सडकलगायत साना–ठूला जस्तासुकै संरचनामा आगो लगाउने भत्काउने काम भने कहिल्यै पनि गर्दैनन् ।
१. तपाईंलाई रिस उठाउने व्यक्तिहरूबाट टाढै बस्नुहोस् ।
२. आफूलाई के विषयमा रिस उठेको त्यसको कारण पत्ता लगाउनुहोस् र समाधान खोज्नुहोस् ।
३. यदि कोही व्यक्ति तथा विषयका कारण रिस उठिरहेको छ भने जवाफ दिनुहोस् तर प्रतिक्रिया नजनाउनुहोस् ।
४. रिस उठेमा केही सेकेन्डको लागि स्थिर (पज) लिनुहोस् ।
५. तर्कमार्फत समाधान खोज्नुहोस् ।
(ई. क्याटरिना बेलायतको ग्लास्गोस्थित क्यारिलियोन कन्स्ट्रक्सनकी म्यानेजर हुन् । साथै, उनी मेकानिकल इन्जिनियर र नियात्रा लेखक पनि हुन् । ) –एजेन्सी










