बागलुङ नगरपालिका–३ न्वारमा दिनहुँ सकी–नसकी गाडी धकेल्नुपर्ने र पैदल यात्रीलाई पनि उस्तै सकस भैरहेको छ । सदरमुकाम देखि जिल्लाको पश्चिम क्षेत्र जोड्ने बागलुङ बजार–सुलडाँडा खहरे सडकखण्ड हिलोले पार गर्नै मुस्किल हुने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
वर्षायाममा जिल्लावासीको सास्ती झन् थपिएको छ । यो सडकलाई मध्यपहाडी लोकमार्कको विकल्प भनिएको छ तर वर्षौंदेखि प्रभावकारी मर्मत नहुँदा स्थानीयका समस्या भने ज्युँका त्युँ छन् । यात्रुसँगै सडक किनारका बासिन्दाका लागि सधैंको दुःख हिलाम्मे सडक बनेको छ
मध्यपहाडी लोकमार्गको बोक्सेमा पहिरोले सडक अवरुद्ध भइरहँदा पश्चिम क्षेत्रबाट बजार भित्रने र बहिरिने सावरीले यो सडक प्रयोग गर्दै आएका छन् । सडकमा हिलो र पानी जमेका कारण दैनिकजसो सवारी दुर्घटना हुने गरे पनि नगरपालिकाले मर्मतमा चासो नदिएको स्थानीयको आरोप छ ।
सडक खनेको एक दशक नाघे पनि अझै कालोपत्र गरिएको छैन । परिणाम सधैं उही– हिउँदमा धुलो, बर्खामा हिलो । यस्तो समस्याबारे पटकपटक नगरपालिकामा जानकारी गराए पनि ध्यान नदिएको स्थानीय विष्णु केसीले बताउनुभयो ।
‘नगरक्षेत्रका हिलाम्ये सडकको व्यवस्थापनमा नगरपालिकाले ध्यान दिन सकेन,’ उहाँले भन्नुभयो ‘यसले गर्दा वृद्धवृद्धा तथा बालबालिकालाई बजार आउँदा–जाँदा निकै सास्ती हुने गरेको छ ।’ दुर्गम ठाउँहरुमा कालोपत्रे गरि सहज यात्रा गर्न सकिने भएपनि सदरमुकामको नजिकैको हविगतले स्थानिय समेत आजित बनेका छन् । स्रोत – नयाँ विश्व










