बाग्लुङ– बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश काफलबोटमा पौडी खेल्ने क्रममा एक युवतिको ज्यान गएको छ ।
घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर २० वर्षीया मनकुमारी कार्कीको मृत्यु भएको स्थानीय विरेन्द्र जिसीले जानकारी दिनुभयो । मनकुमारी सँगै पौडी खेल्न गएका बहिनी १४ वर्षीया सिवानी कार्की भने सकुशल रहेको उहाँको भनाई छ ।
खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचना पछि स्थानीय युवाहरुले पौडिएर खोज्ने क्रममा दहको बीच भागमा गाडिएको अवस्थामा फेला परेको जिसीको भनाई छ ।
घटना लगत्तै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । खबर पछि प्रहरी टोली घटनास्थल तर्फ प्रस्थान जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । मृतक कार्की काठेखोलाकै भिमसेन माविमा कक्षा १२ मा अध्ययनरत रहेको जनाईएको छ ।










