गलकोट- बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्वर ६ की १४ बर्षिय बालिकाले गलकोट नगरपालिका वडा नम्वर २ का १८ बर्षिय बालकसंग ६ बर्ष अघि भागेर बिबाह गर्नुभयो ।
उमेर नपुगी बिबाह गरेको भनेर उहाँहरुको बिबाह दर्ता समेत भएन् । बिबाह दर्ता नहुदै उहाँहरुबाट एक सन्तानको समेत जन्म भयो । बिबाह भएको १ बर्ष नहुदैं उहाँहरु बिच आपसमा मनमुटाव सुरु भयो । पटक पटक समाजले उहाँहरुलाई सम्झायो । त्यतिकैमा श्रीमान वैदेशिक रोजगारिको लागी विदेश गएपछि आफुलाई र आफ्नो सन्तानलाई बेवास्था गरेकोले ति बालिकाले बताउनुहुन्छ् । उहाँलाई बालबिबाह गरेकोले अहिले निकै पछुतो छ । उहाँका अनुसार विदेशमा रहेका उहाँका श्रीमानले अर्को बिबाह गरी दर्ता समेत गर्नुभएको छ ।
सानो उमेरमा बिबाह गर्दा आफु अहिले घरनघाटको भएको बताउदैं उहाँले बाल बिबाह नगर्न सबैलाई सूझाब दिनुहुन्छ, । उमेर नपुग्दै बिबाह गर्नु अपराध रहेछ, उहाँले भन्नुभयो, मेरो गल्तीको सजाय अहिले छोरीले भोग्न बाध्य छ ।
उहाँको त्यो घटना त प्रतिनिधी मुलक घटना मात्रै हो, यस्ता घटना गलकोटमा दिनहु जस्तै हुने गरेको छ । गलकोट नगरपालिकाले बालमैत्री नगरपालिका निर्माणको लागि कम्मर कसेर काम गर्दा बालबिबाह मुख्य समस्या बनेको नगरप्रमुख भरत शर्मा गैरेको भनाई छ । बालबिबाह आफैमा फौजदारी संहिता अन्तरगर्त पर्दछ, नगरप्रमुख गैरेले भन्नुभयो, प्रशासनले कुनैपनि अपराध न्युनिकरणको लागि किटानी जाहेरी माग गर्ने प्रचलनले समेत बाल बिबाह नियन्त्रणमा थप समस्या श्रृजना भएको छ ।
बालबिबाह रोक्न ऐन नियम तथा कानुन बनेपनि कानुन कार्यान्वयनको सन्दर्भमा प्रशासन जिम्मेबार नबन्दा कानुन कार्यान्वयनमा समस्या थप जटिल बनेको उहाँले बताउनुभयो । नगरप्रमुख गैरेका अनुसार बालबिबाह बिरुद्ध बनेको कानुन कार्यान्यन्वनमा सरकार अनुदार बनेको बताउदैं कानुन कार्यान्वयनमा सरकारी सयन्त्र निरुसाहित रहेको बताउनुभयो ।
बालमैत्री नगर बनाउनु भनेको बालबालिकाका सबै अधिकार स्थापित हुनु हो, नगर उपप्रमुख रेनका काउचाले भन्नुभयो, गलकोट नगरपालिकालाई बालमैत्री घोषणा संगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ भन्ने जिम्मेवारी हामीले महशुस गरेका छौ ।
उहाँले बालिबालिकाको अवस्था र सूचकहरु पुरा गर्न, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गरेको बताउनुभयो । उहाँले बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखी बालमैत्री नगरको पहिचान स्थापित गराउने गरि नगरपालिकाले योजना अघि बढाएकोले बालमैत्री नगरका मापदण्डहरु पूरा गर्न सहजकर्ताहरुको भुमिका प्रभाबकारी रहेको बताउनुभयो ।
गलकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्माले वडा तहमा हुने सबैप्रकारका बालबालिका संग सम्वन्धीत गतिबिधीबारे सहजकर्ताले चासो राख्दै बालवालिकाहरुलाई बाल दुव्र्यहार, बाल श्रम, बाल विवाह, बालअधिकार हनन् जस्ता घटनाहरुलार्ई रोकी बाल अधिकार, बाल वृद्धि–विकास, बाल सहभागिता र बाल संरक्षण गरिदै आफनो लक्ष्य पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।










