बागलुङ- जिल्लाका १० स्थानीय तह मध्ये ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा बेरुजु रकम बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-०७७ को प्रतिवेदनमा जिल्लाका अन्य ८ पालिकाले बेरुजु रकम घटाएकोमा ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाको मात्र बेरुजु रकम बढेको देखिन्छ ।
यसले के देखाउँछ भने ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा अन्य पालिकाको तुलनामा आर्थिक कार्यविधि ऐन–२०५५ अनुसार प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रित नपुरयाई आर्थिक कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखिएको तथा अनियमित वा बेमनासिब तरिकाले बढि आर्थिक कारोबार गरेको देखाउँछ ।
आर्थिक वर्ष २०७६- ०७७मा ढोरपाटन नगरपालिकामा ६.७६ प्रतिशत रकम बेरुजु देखिएको छ । ढोरपाटनमा ९२ करोड ४८ लाख १८ हजार लेखा परीक्षण रकम रहेको थियो । नगरपालिकामा ६ करोड २५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको हो । यो आर्थिक वर्ष २०७५-०७६को तुलनामा ४.४५ प्रतिशतले बढि बेरुजु होे । आर्थिक वर्ष २०७५-०७६ मा ढोरपाटन नगरपालिकामा ७७ करोड ३४ लाख ९९ हजार लेखा परीक्षण रकम रहेकोमा १ करोड ७८ लाख ४६ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।
बेरुजु रकम बढि दखिने तेस्रो स्थानमा रहेको काठेखोला गाउँपालिकामा पनि अघिल्लो वर्षको तुलनामा बेरुजु रकम बढेको छ ।
आर्थिक वर्ष २०७५-०७६ मा ०.८० प्रतिशत बेरुजु रकम रहेकोमा आर्थिक वर्ष २०७६-०७७ मा १.६१ प्रतिशत बेरुजु देखिएको छ । यो ०.८१ प्रतिशतले बढि रकम हो । काठेखोला गाउँपालिकामा १ अर्ब ६ करोड ४५ लाख ४ हजार रकम लेखा परीक्षण गरिएकोमा १ करोड ७१ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको छ । २०७५-०७६ मा भने ८७ करोड लेखा परीक्षण रकम रहेकोमा ७० लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको थियो । यी बाहेक अन्य ८ पालिकाले भने बेरुजु रकम घटाएका छन् ।
१० स्थानीय तहमध्ये सबैभन्दा कम बरेङ गाउँपालिकामा ०.४२ प्रतिशत बेरुजु देखिएको छ । बरेङमा आर्थिक वर्ष २०७५-०७६ मा ५.२२ प्रतिशत रकम बेरुजु देखिएको थियो । यो बेरुजु प्रतिशत त्यस आर्थिक वर्षमा जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढि बेरुजु थियो । यो वर्ष भने आफुलाई सुधारेर १० स्थानीय तहमध्ये बेरुजु रकम सबैभन्दा कम देखिनेमा परेको छ । ईपरी न्युजबाट










