प्रबिधि मैत्री बन्दै बागलुङ जिल्लाका सामुदायिक विद्यालय

प्रबिधि मैत्री बन्दै बागलुङ जिल्लाका सामुदायिक विद्यालय
२०७८ भदौ ९ गते बुधबार १०:४३

बागलुङ - प्रबिधिमैत्री शिक्षण सिकाइका लागि बागलुङका केही सामुदायिक विद्यालयहरुले प्रयास थालेका छन् । शिक्षकलाई ल्यापटप, कक्षा कोठामा प्रोजेक्टर र टिभी जडान गरेर पठनपाठनको व्यवस्थापनमा विद्यालयहरु सकृय भएका हुन् । जिल्लाको...

बागलुङ – प्रबिधिमैत्री शिक्षण सिकाइका लागि बागलुङका केही सामुदायिक विद्यालयहरुले प्रयास थालेका छन् । शिक्षकलाई ल्यापटप, कक्षा कोठामा प्रोजेक्टर र टिभी जडान गरेर पठनपाठनको व्यवस्थापनमा विद्यालयहरु सकृय भएका हुन् ।

जिल्लाको निसीखोला गाउँपालिका– १ मा रहेको देवीस्थान माध्यामिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । निसीखोला गाउँपालिकाको ६ लाख ५० हजार र विद्यालयको अन्तरिक स्रोतबाट ६ लाख ५० हजार गरी १३ लाख रुपैयाँको लागतमा १६ जना शिक्षकलाई ल्यापटक, कक्षा कोठामा स्मार्ट टिभी र प्रोजेक्टर जडान गरेको हो ।

जैमिनी नगरपालिका–१ कुश्मीशेराको शान्ति माध्यमिक विद्यालयले प्राबिधिक धारका कक्षाहरु प्रोजेक्टरको सहयताले पठनपाठन गराइन्छ । कोरोना महामारीका कारण कक्षा ६ देखी १२ सम्म अनलाईन मार्फत पठनपाठन भैरहेको छ । विद्यालयले भौतिक उपस्थितीमा हुने कक्षामा प्रोजेक्टरको सहयता लिने गरिएको हो । शिक्षकहरुले ल्यापटप आवश्यकता महशुस गरेर विद्यालयले ऋण उपलव्ध गराउने निर्णय गरेको छ । ‘जमाना प्रबिधिको छ, भर्चुअल कक्षा होस वा भौतिक उपस्थितीमा हुने कक्षा, ल्यापटप हुँदा शिक्षकहरुलाई तयारीदेखि कक्षा कोठामा सहयोग पुग्छ’ प्रधानाध्यापक यामबहादुर जिसीले भन्नुभयो ‘विद्यालयको संचित कोषको रकमबाट आवश्यक रहेका शिक्षकको लागि ल्यापटपको ६० प्रतिशत लागत व्यहोरेका हौं ।’

काठेखोला गाउँपालिका वडा नं. ७ को रेश नुन्थला माध्यमिक विद्यालयले शिक्षकका लागि ल्यापटप र प्रत्येक कक्षामा प्रोजेक्टर अभियान थालेको दुई बर्ष भयो । पठनपाठन प्रबिधिमैत्री बनाउनकालागि शिक्षकलाई ल्यापटप, विद्यार्थीलाई युट्युवको सहारामा पठनपाठन र आधुनिक पुस्तकालय अभियान थालिएको वडा अध्यक्ष एवं बिद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लामिछानेले बताउनुभयो । विद्यालयको अभियानकालागि वडा कार्यालयले ५ लाख रुपैयाँ अनुदान उपलव्ध गराईसकेको छ ।

कक्षा कोठाको वातावरण प्रविधिमैत्री बनाउँदा पठन पाठन क्रियाकलप विद्यार्थी केन्द्रीत हुने देवीस्थान माध्यामिक विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीको भनाई छ । ल्यापटपको उपयोगीताबारे विद्यालयका सबै शिक्षकलाई आधारभूत कम्युटर सीप तालिम प्रदान गरिएको थियो । शिक्षकहरूले कक्षा कोठामा चक, डस्टर वा मार्करको ठाउँमा ल्यापटप र प्रोजेक्टरको प्रयोग भएको क्षेत्रीले बताउनुभयो ।

देवीस्थान माध्यामिक विद्यालयमा बाल कक्षादेखि १२ सम्म पठनपाठन हुने विद्यालयको कक्षा १ र २ मा स्मार्ट टिभी र कक्षा ८, ९ र १० मा प्रोजेक्टरसमेत जडान गरिएको छ । विद्यालयमा २० वटा कम्युटरसहित कम्युटर ल्याव सञ्चालनमा छ । विद्यालय प्रभावित क्षेत्रमा इन्टरनेटको सहज पहुँच छैन् । कोरोना महामारीले विद्यालयमा भौतिक उपस्थितमा पठन–पाठन गर्न कठिन भएको प्रधानाध्यापक क्षत्रीको भनाई छ । सबै विद्यार्थीसँग स्मार्टफोनको पहुँच नहुँदा अनलाईन कक्षा सञ्चालनमा समस्या भएको उहाँले बताउनुभययो ।

विद्यालयले चन्दा सङ्कलनबाट ६५ लाख रूपियाँ नियमित ब्याज प्राप्त हुनेगरी वित्तिय संस्थामा राखेको छ । सोही रकमको ब्याजबाट प्राप्त हुने पैसाले विद्यालयका शैक्षिक तथा भौतिक निर्माणमा खर्च हुने गरेको विद्यालयले जनाएको छ । विद्यालयहरुले प्रबिधि मैत्री शिक्षामा जोड दिन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्न थालेको शिक्षकहरुको बुझाई छ ।

‘अहिले हामीसँग उपलव्ध शैक्षिक कार्यक्रम र त्यो सँग सम्बन्धित शैक्षिक सामग्रीका कारण निजी विद्यालय छोडेर आउने विद्यार्थी धेरै छन्’ शान्ति माध्यमिक विद्यालयका प्रअ जिसी भन्छन् ‘विद्यालयले आँफैले थालेका कार्यक्रममा तीन तहका सरकारको साथ भए अझै राम्रो हुन्थ्यो ।’ निसीखोला, काठेखोला र जैमिनीका तीन विद्यालय प्रतिनिधी विद्यालय मात्रै हुन् । जिल्लामा बिभिन्न स्रोतको खोजी गरेर प्रबिधीमैत्री बन्ने बिद्यालयको होड बाजी चलेको छ ।

स्रोत – ढोरपाटन न्युज 

प्रकाशित मिति २०७८ भदौ ९ गते बुधबार १०:४३
प्रतिक्रिया दिनुहोस्