बागलुङ- बागलुङमा पछिल्लो समय बाढी पहिरो र भूक्षयका घटना बढ्न थालेपछि मौसम विभागले बागलुङको मौसम पूर्वानुमान जानकारी गराउन थालेको छ ।
बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माको समन्वयमा मौसम पूर्वानुमानले दूई-दुई दिनको बिचमा बागलुङको मौसम सम्बन्धी जानकारी पठाउदै आएको छ ।
उक्त मौसम सम्बन्धी जानकारी शर्माले विभिन्न फेसबुक पेज मार्फत नागरिकलाई जानकारी गराउदै आउनुभएको छ । शर्माले उच्च जोखिममा मौसम पूर्वानुमान हुँदा वडा तहको विपद् समितिलाई समेत जानकारी गराउँदै आएको बताउनुहुन्छ ।
पूर्व जानकारीले ठूलो मानवीय तथा भौतिक क्षतिमा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो एक महिनादेखि बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकाको मौसम सम्बन्धी जानकारी विभागले दिदै आएको र बागलुङका नागरिकलाई सूचना जारी गर्न फेसबुक मार्फत आफूले जानकारी दिदै आएको इन्जिनियर शर्माको भनाई छ ।
आजको मौसमी प्रभावका आधारमा आगामी दुई दिन सम्मको मौसम सम्बन्धी जानकारी उपलव्ध गराइने र मौसम विभागले समेत जोखिम तालिकाका अनुसार नागरिकलाई सचेत गराउदै आएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बागलुङ नगरपालिकाका इन्जिनियर शर्मालाई आवश्यक तालिम प्रदान गरे पश्चात मौसम सम्बन्धी जानकारी दिन थालेको हो । इन्जिनियर शर्माका अनुसार पछिल्लो समय बागलुङमा झरी पर्दा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्ने भएकाले त्यसलाई कम गर्न पूर्व जानकारी दिन थालिएको हो ।
मौसम सम्बन्धी जानकारीले मानवीय तथा भौतिक क्षतिलाई कम गर्छ, तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइन्छ, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर जस्ता ठूला सडकमा पहिरो खस्न सक्ने भएकाले पानी परेको अवस्थामा सकभर यात्रा नगर्न सुझाव दिइने व्यवस्था मिलाइएको शर्माले भन्नुभयो ।
बागलुङ नगरपालिकाको विपद् व्यवस्थापन स्रोत व्यक्ति समेत रहनुभएका इन्जिनयर शर्माले चार पालिकाको मौसमी अनुमानले जिल्लाभर काम गर्ने बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले चार पालिकालाई नै दुई दिन अगावै मौसम सम्बन्धी जानकारी दिँदै आएको छ ।
प्रभावमा आधारित मौसमी विवरणमा दुई दिनको अवधीमा मौसममा आएको प्रभावका कारण हुने अति न्यून, न्यून, मध्यम र उच्च जोखिम देखाउने गरेको छ । जानकारीमा पानी पर्ने, नपर्ने, कम तथा बढी पर्ने, चट्याङको संभावना समेत देखाउने गरेको छ । मौसमी विवरणमा सम्भावित घटनाहरु समेत उल्लेख गरेकाले पूर्वानुमान प्रभावकारी बन्ने मौसम पूर्वानुमान महाखाको भनाई छ । आदर्श अनलाइन










