बागलुङमा द्वन्द्वकालका बेपत्ताको खोजी गर्दै आफन्त

बागलुङमा द्वन्द्वकालका बेपत्ताको खोजी गर्दै आफन्त
२०७८ भदौ १४ गते सोमबार ०७:४४

बागलुङ- बेपत्ता दिवसको अवसर पारेर बागलुङका २ जना पीडितले आफन्तको खोजी थालेका छन् । आफ्नै प्रयासमा पटक पटक खोजी अभियान चलाइरहेका ती दुवैजनाले पहिलो पटक प्रहीमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयमा पुगेर तत्कालीन बोहोरागाउँ...

राहत तथा खोजी अभियानमा राज्यको साथ समेत नपाएको गुनासो

बागलुङ- बेपत्ता दिवसको अवसर पारेर बागलुङका २ जना पीडितले आफन्तको खोजी थालेका छन् । आफ्नै प्रयासमा पटक पटक खोजी अभियान चलाइरहेका ती दुवैजनाले पहिलो पटक प्रहीमा जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा पुगेर तत्कालीन बोहोरागाउँ गाविस, हालको निसीखोला गाउँपालिका ४ का खुमलाल शर्माले आफ्नी श्रीमती सुशिलाको खोजी गरिदिन आग्रह गर्दै जाहेरी दिनुभएको थियो ।

उहाँकी श्रीमती सुशिलालाई माओवादीका कार्यकर्ताले जवरजस्ती अपहरण गरेर लगेपछि अहिलेसम्म फिर्ता नदिएको बताउनुभयो । उहाँले श्रीमती खोजी गरिदिन र पीडकलाई कारवाही गर्न माग गनुर््भएको छ । उहाँले माओवादीका गाउँ, इलाका र जिल्ला इन्चार्जविरुद्ध जाहेरी दिएको बताउनुभयो । २०६२ साल मंसिर १३ गते सुशिला बेपत्ता हुनुभएको थियो ।

त्यस्तै तत्कालीन राङखानी गाविस हालको जैमिनी नगरपालिका १० का विमल केसीले आफ्नो छोरा सेनाले बेपत्ता पारेको भन्दै आइतबार प्रहरीमा जाहेरी दिनुभएको छ । उहाँले छोरा खोजी गरिदिन प्रहरीलाइ आग्रह गर्नुभयो । उहाँको छोरालाई सेनाले जबरजस्ती लगेपछि फिर्ता नदिएको गुनासो छ । २०५८ सालमा १३ वर्षमात्रै पुगेका केसीका छोरा गणेशलाई सेनाले बेपत्ता बनाएको थियो । केसीलाई सेनाले विद्रोही भन्दै नियन्त्रणमा लिएपछि फिर्ता नदिएको उहाँले बताउनुभयो ।

गणेश बलेवा स्थित आफन्तको घरमा गएको मौकामा सेनाले पक्राउ गरेको उहाँको भनाइ छ । केसीले तत्कालीन नेपाली सेनाको कालीदल गुल्मका गुल्मपति चन्द्रबहादुर पुनसहित सेनाविरुद्ध मुद्दा दिएको बताउनुभयो । पीडितहरुले राहत तथा खोजी अभियानमा राज्यको साथ समेत नपाएको गुनासो गरेका छन् ।

आइतबार अधिकारकर्मी राम शर्मासहित प्रहरीमा पुगेका उनीहरुले जाहेरी बुझाएका थिए । प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जाहेरी बुझेर राख्नुभएको थियो । राज्यको नीति अनुसार जाहेरी दर्ता गर्ने आश्वासन दिएर उनले पीडितलाई फिर्ता पठाइदिएका हुन् । अधिकारको क्षेत्रमा काम गरेको वकालत मञ्चका अनुसार सशस्त्र द्वन्द्वको समयमा जिल्लामा २५ जना बेपत्ताको सूची छ ।

प्रकाशित मिति २०७८ भदौ १४ गते सोमबार ०७:४४
प्रतिक्रिया दिनुहोस्