बागलुङ- धौलागिरी अस्पताल बागलुङमा दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालनमा नहुँदा सर्वसाधरण मारमा परेका छन् । कोरोना महामारीका बीच पनि सवै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकहरु नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले बताउनुभयो।
१६ जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जनामात्रै विशेषज्ञ चिकित्सक निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्ट शैलेन्द्र वि.क.पोखरेल कार्यरत रहनुभएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक करारमा कार्यरत छन् ।
यस्तै ६ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जनामात्रै अस्पतालमा कार्यरत रहनुभएको छ । मेडिकल अधिकृत रविन बाबु पौडेलको पनि सरुवा पत्र आइसकेकोले अब मेडिकल अधिकृत नहुने पक्का भइसकेको अस्पतालका मेडिकल रेकडर नवराज पौडेलले बताउनुभयो । उहाँले अस्पतालमा अहिले जम्मा पाँच जना मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधि सकिन दुई महिना मात्र आवधि रहेको जानकारी दिनुभयो । अस्पतालमा अहिले दुई जना फिजिसिन रहेका छन् ।
अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सकहरु नहुँदा उपचारमा समस्या भएको अस्पतालको भनाई छ । चिकित्सक र मेडिकल अधिकृतहरुको अभाव रहेको र करारमा रहेका मेडिकल अधिकृतहरुको पनि अवधि सकिन लागेकोले उपचारमा थप समस्या हुने देखिएको छ ।
राज्यले चिकित्सकहरु नपठाउँदा सेवाग्राहीहरुलाई सहजरुपमा सेवा प्रवाह गर्न गाह्रो भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानाले गुनासो गर्नुभयो। उहाँले आफुहरुले केन्द्र सरकार र प्रदेश सरकारलाई पटक पटक आग्रह गर्दा समेत चिकित्सकहरु नपठाएकोले सेवा प्रदान गर्न समस्या परेको बताउनुभयो ।










