भदौ २१ गते बागलुङको ८५ वटै वडामा कांग्रेसको अधिवेशन हुने

भदौ २१ गते बागलुङको ८५ वटै वडामा कांग्रेसको अधिवेशन हुने
२०७८ भदौ १६ गते बुधबार ०७:०४

बागलुङ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १८ गते वडा स्तरबाट हुने भनिए पनि २१ गतेदेखि मात्रै वडा अधिवेशन सुरु हुने भएको छ । २१ गते बागलुङको ८५ वटै वडामा अधिवेशन हुने कांग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले जानकारी...

बागलुङ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १८ गते वडा स्तरबाट हुने भनिए पनि २१ गतेदेखि मात्रै वडा अधिवेशन सुरु हुने भएको छ । २१ गते बागलुङको ८५ वटै वडामा अधिवेशन हुने कांग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत बुधबार मात्रै बागलुङमा आएपछि विभिन्न तयारी गर्नु पर्ने हुँदा भदौ २१ मा वडा अधिवेशन गर्नु पर्ने सभापति थापाले जानकारी दिनुभयो । बागलुङमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट निर्वाचन अधिकृतका रुपमा अधिवक्ता विष्णु प्रसाद शर्मा आउनु भएको छ ।

२१ गते वडा अधिवेशन हुने भएपछि बागलुङका ८५ वटै वडामा कांग्रेस नेताहरुको चहल(पहल हुन थालेको छ । निर्वाचन अधिकृत ढिलो आएको र सबै वडामा निर्वाचनको तयारी गर्नु पर्ने हुँदा भदौ २१ मा वडा अधिवेशन हुने थापाको भनाई छ । बागलुङ कांग्रेसमा केही समय अगाडी सदस्यता नविकरण तथा नयाँ सदस्यता थप विवाद बारे केन्द्रमा मुद्धा समेत परेको थियो ।

मंगलबार मात्रै कांग्रेसले बागलुङको सदस्यहरुको नाम वेभसाइटमा सार्वजनिक गरेको थियो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो ।

कांग्रेसमा नेताहरुबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी हुँदा ५६ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति २०७८ भदौ १६ गते बुधबार ०७:०४
प्रतिक्रिया दिनुहोस्