बागलुङ- नेकपा एमाले विभाजनपछि नयाँ पार्टीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या बढिरहेको छ । प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरु जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा पुगेर कित्ता क्लियर गरिरहेका छन् ।
दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि भदौ २२ गतेसम्म नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल रोज्न पाउने प्रावधान रहेको छ ।
नेकपा एमाले विभाजनको प्रभाव अन्य प्रदेशमा बढी भएपनि गण्डकी प्रदेशमा भने कम रहेको छ । प्रतिनिधिसभा विघटनको बेला माधव समूहमा रहेका गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा अहिले पार्टी विभाजनको विपक्षमा उभिनुभएको छ । उनीसँगै बागलुङका धेरै जनप्रतिनिधिहरु एमालेमै रहने भएपछि बागलुङमा पार्टी विभाजनको खासै प्रभाव नपर्ने देखिएको छ ।
केही दिनअघि लालबहादुर थापाको संयोजकत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको छ । यसअघि थापा एमाले जिल्ला सचिव रहनुभएको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जिल्ला भित्रका अधिकांश जनप्रनिधिहरु एमालेमै रहेको दाबी गर्नुभएको छ । नेकपा एमालेबाट निर्वाचित धेरै जनप्रतिनिधि एमालेमै रहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘केहीदिनमा एकाध बाहेक सबै एमालेमै खुल्ने कुरा भएको छ । विभाजनको प्रभाव खासै छैन ।’
जनप्रतिनिधिको संख्या कमजोर भएपनि वैचारिक तथा क्रान्तिकारी विचार भएका नेता कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीमा लागेको संयोजक थापाले बताउनुभयो । पार्टी विभाजनपछि स्थानीय जनप्रतिनिधि तथा कार्यकर्ता कता तिर लाग्ने भन्नेमा अल्मल देखिएका छन् । पार्टी विभाजनले बामपन्थी आन्दोलन कमजोर पार्ने भन्दै फुटेर गएकाहरुको इतिहास राम्रो नभएकाले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु संस्थापनमै रहेने बताएका छन् ।
बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले आफू संस्थापनमै रहेको बताउनुभयो । यस्तै ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उपप्रमुख करमती पुनसहित एमालेबाट निर्वाचित सबै जनप्रतिनिधि संस्थापनमै रहने जनाईएको छ ।
यस्तै, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, जैमिनी नगरपालिकाका उपप्रमुख लिला राना पनि एमालेमै रहने बताउनुभएको छ । २२ गतेसम्म केही जनप्रनिधिहरु जानसक्ने भन्दै धेरै जनप्रनिधिहरु एमालेमै रहने जिल्ला अध्यक्ष सापकोटाको भनाइ छ । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल आफू संस्थापनमै रहेको बताएका छन् । नेपालमा कम्युनिष्ट शक्ति विभाजन भएर होइन जुटेर जानुपर्छ भन्दै आफू एमालेमै रहेको जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका वडा नं २ को वडा अध्यक्ष जीवन आचार्य नेकपा एकीकृत समाजवादी मा खुले पनि अरु वडा अध्यक्षहरुको प्रष्ट धारणा आएको छैन् । यता, बागलुङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद पनि एमालेमै खुलेका छन् । बागलुङ क्षेत्र नम्बर १ एमालेबाट निर्वाचित डा.सुर्य पाठक, समानुपातिक सांसद मनकुमारी जिसी मना एमालेमै रहने भएका हुन् । उनीहरू प्रतिनिधिसभा विघटन हुँदा केपी ओलीको पक्षमा थिए ।
प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटा पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको छ ।यस्तै, गण्डकी प्रदेशकी समानुपातिक सांसद सावित्रा राना पनि एमालेमै सक्रिय हुने बताउनुभयो। तर धेरै जसो जनप्रतिनिधिहरू एमालेमै बस्ने भएपनि बागलुङबाट राष्ट्रिय सभा सदस्य बनेकी शान्तिकुमारी अधिकारीले भने नेकपा एकीकृत समाजवादी रोज्नुभएको छ ।
निर्वाचन आयोग पुगेर उहाँले समाजवादीमा खनाखत गर्नुभएको थियो । जिल्ला समन्वय समितिको उपप्रमुख विष्णु भुसाल पार्टी एकताकै पक्षमा रहेको जनाईएको छ । जिल्लामा प्रभावशाली नेताको रुपमा चिनिएका हिराबहादुर केसी कुनै पनि पार्टीमा खुल्नुभएको छैन । ‘अहिलेसम्म कतै खुलेको छैन,’ बामपन्थीहरुको एकता पक्षमा छु ’ उहाँले भन्नुभयो ।
तर, संस्थापन पक्षले आफूतिर खुलेका दाबी गरेको छ । एमालेका क्षेत्रिय अध्यक्ष गोविन्द गौतम र नगर इन्चार्ज भरत पुरी,पूर्वअध्यक्ष श्रीप्रसाद शर्मा, संविधानसभा सदस्य, पूर्वराज्य मन्त्री रामजीप्रसाद शर्मामा एकीकृत समाजवादीमा खुलेको बताइएको छ । नयाँ विश्व










