आयोजना निर्माणमा १६ करोड ८५ लाख बजेट स्वीकृत
बुर्तिबाङ- नयाँ शहरी आयोजना बुर्तिबाङले चालु आर्थिक वर्ष २०७८-०७९ मा विभिन्न १६ वटा योजना सञ्चालन गर्ने भएको छ । सो योजना सञ्चालनका लागि शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागबाट १६ करोड ८५ लाख रुपैयाँ स्वीकृत भएको छ ।
आयोजनाले चालु आर्थिक बर्षमा बहुबर्षिय एकीकृत सहरी सेवा केन्द्र निर्माण गर्न ५ लाख तथा भवनको गुरुयोजना निर्माण गर्न ५ लाख गरि १० लाख रुपैयाँ वजेट स्वीकृत गरेको छ । यस्तै स्थानीय स्तरको योजना निर्माण गर्न डिपिआर तयारका लागि ५० लाख र सडक स्तरउन्नतिका लागि ३० लाख रुपैयाँ बजेट विभागबाट स्वीकृत भएर आएको आयोजना प्रमुख ईञ्जिनियर अभिशेक अधिकारीले जानाकारी दिनुभयो ।
यस्तै निर्माण भइसकेका सडकहरुको स्तरउन्नति र ममर्तका लागि ५ लाख, बुर्तिबाङ बजारको बरपीपल देखि तल्लो बस्तीसम्म जोड्ने ढल निर्माणमा ५० लाख, उपल्लो बजारबाट बसपार्क सम्मको सडक स्तरउन्नति गर्न ५ लाख र बसपार्कको डिपिआर सहित निर्माण प्रक्रिया अघि बढाउन ५ लाख रुपैयाँ वजेट व्यवस्था गरिएको कार्यालय प्रमुख अधिकारीले जानाकारी दिनुभयो ।
नयाँ शहरी आयोजनाले खरिद गरेको जग्गामा ब्लक प्लान स्वीकृत गर्ने र सिमांकन सहितको बाटो बनाउन २० लाख रुपैयाँ बजेट स्वीकृत भएको छ । आयोजनाले विभिन्न ठाउँमा गरि हालसम्म ५७ रोपनी जग्गा खरिद गरेको छ ।
चालु आर्थिक वर्षमा ६ वटा ठूला र महत्वपूर्ण योजना अघि ल्याएको छ । जस अनुसार एकीकृत विकास योजनामा २ वटा शहरी पूर्वाधार निर्माण गर्न २ करोड रुपैयाँ विनियोजन भएको छ । तारिखेत देखि कुत्थाप्लासम्मको सिडि निर्माणमा २ करोड रुपैयाँ, वडा नं. ३ को चाचलघाट, घोसाहुँदै कालापोलसम्मको सडक स्तरउन्नति गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बुर्तिबाङको नयाँ शहरी क्षेत्र छेउँमा सडक सौर्य वत्ति जडान गर्न २ करोड र बुर्तिबाङको सोरबोटदेखि भब्रेटासम्मको सडक स्तरउन्नति गर्न १ करोड रुपैयाँ विनियोजन भएको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो ।आयोजनाले तत्काल ठेक्का प्रक्रिया सुरुगर्ने योजना बनाएको भएपनि, अर्थ मन्त्रालयबाट अझै वजेट सञ्चालनको प्रक्रिया अघि नबढेकोले समस्या उत्पन्न भएको अधिकारीको भनाई छ । अर्थमन्त्रालयबाट वजेट सञ्चालनको प्रक्रिया सुरुभएसँगै काम सुरु हुने उहाँको भनाई छ ।











