हरितालिका तीज भौतिक वस्तु प्रदर्शनको छायाँमा नपरोस !

हरितालिका तीज भौतिक वस्तु प्रदर्शनको छायाँमा नपरोस !

खेमराज रानाभाट

@समय नेपाल

२०७८ भदौ २४ गते बिहिबार ०८:३४

वास्तवमा तीज माईती र विवाहित चेलीको सम्बन्धलाई निरन्तर कायम राख्न भगवान शिव पार्वतीको सम्बन्धसंग जोडिएको विशेषत हिन्दु नारीहरुको एक ठुलो चाड हो । तीज एउटा धार्मिक दृष्टिकोण अनुसार नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको...

वास्तवमा तीज माईती र विवाहित चेलीको सम्बन्धलाई निरन्तर कायम राख्न भगवान शिव पार्वतीको सम्बन्धसंग जोडिएको विशेषत हिन्दु नारीहरुको एक ठुलो चाड हो । तीज एउटा धार्मिक दृष्टिकोण अनुसार नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व हो । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व मनाउने गरिन्छ । पार्वतीले शिवजी भगवानलाई कसरी प्राप्त गरेकी थिईन भन्ने कुरा तपाई हामी सबैलाई अवगत नै छ । मुख्य कुरा नेपाली हिन्दु महिलाहरुको धार्मिक महिमा बोकेको तीजले वर्तमान समयमा जुन सँस्कृति र संस्कार झल्काउनु पर्ने हो त्यो स्थितिबाट बिस्तारै बाहिरिदै गएको हो कि भन्ने भान पर्न गएको छ ।

तीज पर्वको केहि कमि कमजोरी नभएको होईन तर ती कमजोर पक्षलाई सुधार गर्दै लैजान सकिन्छ । अहिले सचेत महिला दिदीबहिनीले उठाउदै आएको बहस ‘श्रीमानको लागि महिलाले किन निरहार वर्त बस्ने ? किन खुट्टा ढोग्ने’ जस्ता विषयहरुमा श्रीमतीको ईच्छा अनुसार चल्न सकिन्छ । श्रीमानको बानी व्यवहार कस्तो छ त्यसमा भर पर्न सक्छ । वर्त बस्दैमा श्रीमानको आयु लम्बिन्छ भन्ने कुरामा कुनै तथ्य छैन । तर यहि धार्मिक संस्कृतिको माध्यमबाट लोग्ने स्वास्नीको सम्वन्धमा झन निखरता आओस र भावनात्मक सम्वन्ध अझै बलियो बन्न सकोस भन्ने हो । दाजुभाई र दिदीबहिनीमा कुनै कारणवश केहि वेमेल र सम्बन्धमा तिक्तता आएको छ भने पनि यहि तीजको माध्यमले यिनीहरुको सम्बन्धलाई फेरी जीवन्त बनाउने अवसर हुनेछ ।

पछिल्लो समय तीज अलि भड्किलो बन्दै गइरहेको छ। एक महिना अगाडिदेखि तीज मनाउन शुरु गर्ने र गहना, कपडा प्रदर्शन गर्ने चलन बढदै गएको छ । तीज आयो कि कतिपय दिदीबहिनीहरु नयाँ र  महँगा साडी, लेहेंगा, गरगहना छैन भनेर चिन्तित हुन थाल्छन ।  एक जना दिदीलाई यसपटकको तीजमा रमाईलो गरौं है भनेकी, ‘म त जान्न बहिनी भन्नु भो।‘ किन रहेछ भनेर अलि चासो लिएर बुझ्दा उनले भनिन ‘अरुसँग कति माग्नु ! आफुसँग सस्तो कपडा मात्र छ। गहना पनि अहिले आएको नयाँ फेशन अनुसारको छैन। मेरा साथीहरुले सबै व्यवस्था गरि सके । म उनीहरुको अगाडि कमजोर र हैसियत नभएको हुनेछु । मेरो श्रीमानको पनि ईज्जत जान्छ । बरु कुनै बाहना  बनाएर जाँदै नगए टन्टै खलास भन्नु भो।’ कुरा गर्दा जोशिएर बोले पनि उनको अनुहारमा तनाव र खिन्नता देखिन्थ्यो । तीज मनाउन नपाउनेमा भन्दा पनि गरगहना र कपडाको जोहो गर्न नसकेकोमा भावुक देखिन्थिन । तर अरु साथीहरु भने अति खुशी देखिन्थे । उनीहरु तीजको पर्खाईमा आतुर थिए । किन कि उनीहरुले तीजमा चाहिने साथीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने कपडा र गरगहना तयार पारि सकेका थिए । उनीहरु आफ्नो हैसियत र रवाफ सबैको सामु प्रदर्शन गर्ने अवसरको प्रतिक्षामा थिए । त्यसैले कसैलाई तीज आउदै नआए हुन्थ्यो र कसैलाई आई राखोस जस्तो नबनोस। धनीको लागि पर्व र गरिवको लागि समस्या नबनोस तीज।

हामीले हाम्रा कला,संस्कृति, मान्यताहरु हाम्रो समाज र समय अनुसार परिवर्तन त गर्नु पर्छ तर विकृति उन्मुख हुनु हुँदैन। शुरुका दिनमा पार्वतीको त्याग, तपस्या र संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर त्यसको ज्ञान र महत्वलाई बिर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरु लगाएर प्रतिस्पर्धात्मक र भड्किलो रुपमा मनाउन थालिएको छ। तीज आयो भन्दै माइतीको घर आँगनमा रमाउने भन्दा नि पार्टीहरुमा रोमान्चित हुन थालेका छन् ।

माईती र चेलीको माया,ममताको बारेमा गीत गाउन छोडेर गरगहना र लत्ताकपडाको बारेमा नै हाम्रा धेरै तीज गीत बन्न थालेका छन। माईती घर र विवाह पुर्वका साथीसङ्गीहरुसंग रहंदाको सम्झनामा गीतहरु कम गाउन थालिएको छ। लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धीका आवाजहरु पनि तीज सम्बन्धी गीतमा चाहेको जति उठाईएको छैन। हुनेखान् दिदीबहिनीको अगाडि नहुने दिदीबहिनीको पीडा र दु:ख कम सुनिन्छ । नारी पीडा, त्याग, तपस्या र संघर्षको आवाज सम्बन्धी विषय कम सुनिन थालेको छ।

माईती र साथीसङ्गीको घर आँगनमा मनाइने तीज आजकल तारे होटेल, विशेष रेष्टुरेण्डमा मनाउने अनि विदेशी बियर हुस्कीको चुस्की लगाई रमाउने हुँदै गएका छन । नेपाली लोकलयमा तीज गीत होईन डिस्को र मोडर्न गीतमा -याप हान्न रुचाउन थालेका छन। पहिले पहिले तीज कहिले आउला र माईतीसँग भेटेर मन भरिका बिलौना गीत मार्फत माईतीको घरआँगनमा पोखौंला भन्ने हतारमा हुन्थे । लामो समयसम्म भेटघाट हुन नपाएका आफन्तजन र साथीसङ्गीसंग भेट्ने माध्यम तीज बन्ने गर्थ्यो । माईतीको घर आँगनमा पाईला टेक्दाको क्षण कति आनन्ददायी हुन्थ्यो । आजकल त माईती पनि चेलीवेटीलाई समय सुहाउदो परिकार र फेशनवाल उपहार दिन सक्छु कि सक्दिन होला भन्ने चिन्ताले पिरल्लिएको देखिन्छन । माईतीघर कति बेला जाउँला, रमाईलो गरौंला भन्दा पनि कतिवटा तीज पार्टीमा सहभागी हुन भ्याउला भन्ने चिन्ता बढ्न थालेको छ ।

श्रीमान र श्रीमती बीचको सुखद दाम्पत्य जीवनको कामना गर्दै भगवान शिव पार्वतीको पुजा आराधना गरेर मनाइने तीज आजभोली श्रीमानसंग प्रतिस्पर्धा गर्दै ‘लोग्ने मान्छेले त पिउछ भने हामी स्वास्नी मान्छेले किन पिउन नहुने भन्दै महिलाहरु पनि तीज पार्टीमा पिउन थालेका छन् ।  रक्सी चुरोट नपिउने दिदीबहिनीको लागि तीज कुनै पर्व होइन कि जस्तो हुन थालेको छ। रक्सी नपिउने दिदीबहिनी समय अनुसार चल्न नसकेको जस्तो भईरहेका छन्। श्रीमानसंग चित्त नबुझेको कुरामा वैचारिक बहस गरेर समाधान खोजिनुको सट्टा झन् उनैको पिउने कुराको सिको गरेर प्रतिष्पर्धा गर्नु कतिसम्म जायज हो यो तपाई हामीले नै समिक्षा गर्ने हो । छोराछोरीसंगै राखेर हामी पिउन, झुम्न थालेका छौं। यो कार्यले त्यो बालमष्तिष्कमा कस्तो प्रभाव पर्छ होला ! त्यस तर्फ ध्यान पु-याउन सकेका छैनौं। लैंगिक समानताको नाममा परिवारमा मतभेद नै आउने गरि समानता खोज्नु कतिसम्म तर्क संगत हुन्छ त्यस तर्फ हामी महिला दिदीबहिनी समयमा नै सजग हुनु पर्छ ।

दु:ख भुलेर मिठो नमिठो खाएर घर आगनमा रमाउने चाड आजभोली बिहेको भोज भतेर झैँ हुँदैछ। आफुभन्दा अग्रजले सानालाई दिने गरिएको सौभाग्यका प्रतिक चुरा, पोते र टिका जस्ता सामान्य प्रतिक आजभोली महंगा गरगहना, साडी र कुर्ता लेहेंगामा परिवर्तित हुँदैछ। जसले गर्दा साधारण हैसियत भएका दाजुभाईलाई आफ्ना चेलीबेटी घरमा बोलाउन पनि अप्ठ्यारो महशुस हुने हुदैछ। त्यसैले त तीज ठुलाबडाका लागि मोज गर्ने, आफ्नो औकात समाजको अगाडी देखाउने सुनौलो मौका बनेको छ | यसले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव परिरहेको छ | तीज पर्वलाई धनी-गरिव, हुने-नहुने  सबैले सामान्य तवरले मनाउन सक्ने वातावरण हामी आफैले बनाउनु पर्छ।

नेपालमा हरेक वर्ष वर्षायामसंगै आउने तीजको बेलामा धेरै बाढी पहिरो आएर तराई र पहाडमा धेरै धनजनको क्षति व्यहोर्न परेको हुन्छ | यसै हप्ता पनि अविरल वर्षाका कारण नेपालको तराई पहाडका कयौं भूभागका बासिन्दा बाढि,पहिरो र ढुवानले गर्दा कयौंको ज्यान गएको छ त कति घरबार विहिन हुनु परेको छ।

तीजको बेलामा हामी महिलाहरु भेटघाट हुँदा नेपालका कयौं हामी जस्तै महिला दिदीबहिनीहरु घरबार विहिन भएका छन्, सन्तान गुमाएका छन् र बस्ने खानेको ठुलो समस्यामा परेका छन् भने हाम्रो भेटघाट ती दु:खमा परेका दिदीबहिनीलाई सहयोग पु-याउन हातेमालो गर्ने अवसरको रुपमा पनि सदुपयोग गर्नु पर्दछ। त्यसैले तीजमा हामीले महिनौदेखि पार्टी गर्ने खर्चहरुलाई कम गरेर समस्यामा परेका ती नेपाली दिदीबहिनी दाजुभाईहरुलाई सहयोग गरौँ। यो तीज पर्वमा हामीसंगै उनीहरुलाई पनि थोरै भए नि हँसाउन सके त्यहि नै हाम्रो महान धर्म हुनेछ। त्यसैमा भगवान शिवजी र पार्वती  खुशी हुनेछ। समस्यामा परेका ती नेपालीहरु खुशी भए नै हाम्रो मनलाई पनि शान्ति मिल्नेछ।

तीज मनाउने क्रममा केहि सकारात्मक परिवर्तन भएका छन् । जस्तै तीज पर्व हिन्दुहरुको मात्र नभई अन्य धर्मालम्वीले पनि रमाईलो मान्दै मनाउने गरेको देखिन्छ । विदेशमा समेत विदेशीहरुको माझ नेपाली कला, संस्कृतिको प्रचारप्रसार हुँदैछ । तीजको गीतमा विदेशीहरु पनि कम्मर मर्काइ मर्काइ नाच्ने थालेका छन। जुन कार्य प्रशंसनीय छन् ।

नेपालीहरुको एकता र संस्कृतीको संरक्षण गर्ने उद्धेश्यले विदेशमा रहनु हुने दाजुभाइले दिदीवहिनीलाई तीजको उपलक्ष्यमा दर खुवाई नाचगान गर्ने कार्यक्रमहरु व्यवस्था गर्दछन् । यसले नेपाली दिदीबहिनी र दाजुभाइसंगको भावनात्मक सम्बन्ध बढ्नुसंगै यस पर्वको महत्व झनै बढ्दै गएको अनुभूति गर्न सकिन्छ। परदेशमा बसेर आफ्नो माईतीघर सम्झेर निरास भएका दिदीबहिनीहरुका लागि यस्ता कार्यक्रमहरुले थोरै भएपनि आफ्नो जन्मघरको आँगनमा मनाएको अनुभूति गराउँछ । एउटा बन्द कोठामा र रेष्टुरेन्टमा मनाउने गरिएको तीज विदेशतिर खुल्ला चोक र चौरमा मनाउन थालेका छन। यसबाट हाम्रो कला, संस्कृति र संस्कारको प्रचार प्रसार हुनुको साथै संरक्षण पनि हुने गर्दछ।

तीजलाई गरगहानाको प्रदर्शन गर्ने, नाफा कमाउने र फेशन देखाउने चाडको रुपमा प्रयोग नगरौ । हाम्रा सन्ततीलाई तीजको महत्व र महिमाको बारेमा सिकाउने र विदेशी माझ प्रचारप्रसार गरी नेपाली कला, सँस्कृति र परम्परागत मूल्य मान्यताको जगेर्ना र संरक्षण गरौं । समाजमा सकरात्मक सन्देश दिन सक्ने गरी मनाउने गरौं । तीजका लागि गरिने अनावश्यक खर्चलाई केहि नियन्त्रण गरेर श्रीमान, घरपरिवार र समाजबाट अपहेलित र दु:ख पाएका महिला साथीहरुलाई आर्थिक रुपमा सहयोग गर्न सके, तिनीहरुलाई पनि यो चाड सामान्य किसिमले मनाउन मद्धत पुग्ने थियो । यसबाट सामाजिक सद्भाव कायम गर्दै समाजमा सकारात्मक सन्देश दिन पनि सकिने थियो।

अन्त्यमा नजिकै आएको हरितालिका तीजको उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनीहरुको दाम्पत्य जीवन सुखी रहोस साथै चेली र माईतीको सम्बन्ध सुखद रहोस सबैमा हार्दिक शुभकामना !

प्रकाशित मिति २०७८ भदौ २४ गते बिहिबार ०८:३४
प्रतिक्रिया दिनुहोस्