एक लाख रुपैयाँ लिएर नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउने धन्दामा रहेको आरोपमा बागलुङ बडिगाड गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ९ बल्घास बस्ने ३२ वर्षिय युद्धबहादुर केसीलाई काठमाण्डौ बाट प्रहरीले पक्राउ गरेको हो ।
नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
नेपाल तथा भारतका विभिन्न फार्मेसी तथा मेडिकल कलेजबाट फार्मेसी विषय लिएर डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइदिने र नेपाल फार्मेसी काउन्सिलमा गरिदिने गैह्र कानूनी काममा रहेका केसीले पैसा लिएर विभिन्न नक्कली कागजातसमेत बनाइदिने गरेको खुलेको छ । उनी नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको प्रहरीसमक्ष उजुरी परेको छ ।
काठमाडौं जिल्ला, ललितपुर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यका अनुसार, केसीले सक्कली सर्टिफिकेटलाई पैसा लिएर अरुको नाममा नक्कली सर्टिफिकेट बनाइदिने गरेको बताउनुभयो । सक्कली सर्टिफिकेट भएका चिकित्सकले आफ्नो नामको सर्टिफिकेट अरुकै नाममा बनेको भेटाएपछि प्रहरी परिसरमा उजुरी गरेको र सोही आधारमा उनलाई पक्राउ गरिएको बज्राचार्यले जानाकारी दिनुभयो ।
पक्राउ परेका केसीले थुप्रै सर्टिफिकेटलाई नक्कली बनाएर बेचेको हुन सक्ने प्रहरीको आशंका छ । उनलाई जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










