एक सातापछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड सुचारु

एक सातापछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड सुचारु
२०७८ भदौ २४ गते बिहिबार ०६:४७

गत भदौ १७ गते राती भएको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका–८...

गत भदौ १७ गते राती भएको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ ।

भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–५ को साढे आठ किलोमिटर लम्बाइमा २० वटा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो । साविकको धौलागिरिका चार जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक नै अबरुद्ध हुँदा चार जिल्ला समस्यामा परेका थिए ।

मौसममा सुधार आएपछि भदौ १९ गतेबाट मध्यपहाडीको पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्रयासबाट बिहीबार साँझदेखि बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए। एक साता लामो प्रयासपछि एकतर्फी रूपमा मात्रै बाटो खुलाउन सकिएको भए पनि सवारीको दोहोरो ओहरदोहरका लागि भने अझै लामो समय लग्ने भएको छ ।

‘एक हप्ता लामो मिहिनेतपछि क्षत विक्षत बनेको बाटोलाई एकतर्फी रूपमा खुलाइएको छ । बाटोको काम गरिरहेको लामा कन्स्ट्रक्सन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलबाट खटिएको मानवीय जनशक्तिले निकै मिहिनेत गरेर यतिका छिटो बाटो खुलाउन सकिएको हो’ उनले भने, ‘बाटो सुचारु भएपछि मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट बाहिरिने तथा यी चार जिल्लामा भित्रिने सवारीहरू गन्तव्यतर्फ लागेका छन् ।’ बाटो बन्द हुँदा साबिकको धौलागिरिका चारै जिल्लाका सवारीहरू छुटेका थिएनन् भने भित्रिन आएका सवारीहरू जिल्लाको मोदी गाउँपालिका–५ पातिचौरमा रोकिएका थिए ।

बाटो सञ्चालनमा ल्याउनको लागि लामा कन्स्ट्रक्सनले पहिरोका विभिन्न ठाउँबाट सात वटा एक्स्काभेटर प्रयोग गरेको थियो। तर पहिरोसँगै आएका विशाल ढुङ्गालाई हच्काउन समेत नसक्दा नेपाली सेनाले लगातार तीन दिनसम्म विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाएपछि बाटो सञ्चालनमा आएको हो ।

‘अन्यत्रको पहिरो त मसिनको प्रयोग गरेर पन्छाउन सकियो तर मोदी गाउँपालिका–५ को भ्याप्ले नजिकैको भागमा सबैभन्दा बढी समस्या भएको थियो । तीन दिनसम्म सेनाले विस्फोट गराएपछि मात्रै एक्स्काभेटरले बाटो सफा गर्न सकिने अवस्था बन्यो’ नेपाली सेनाको केबलजंग गुल्म पर्वतका गुल्म पति सेनानी शमशेर बहादुर सिंह भन्छन्, ‘ढुङ्गा फुटाउनको लागि पर्वतमा विस्फोटक पदार्थ नभएकोले म्याग्दीबाट ल्याएर विस्फोट गराइएको हो । यो बिचमा पैदल यात्रा गर्दै आएका धेरै नागरिकलाई सुरक्षाकर्मीहरूको सहयोगमा गन्तव्यमा पठाइएको छ ।’
सडक अवरुद्ध हुँदा सवारी भएकाहरूले पोखरा–वालिङ–कार्कीनेटा–कुश्मा हुँदै वैकल्पिक सडक प्रयोग गरेको भए पनि यो खण्ड निकै लामो थियो । लामो यात्रा तय गर्न नसक्नेहरुले पोखराबाट पातिचौरसम्म सवारीमा आएर त्यहाँबाट करिब दुई घण्टाभन्दा बढी समय पैदल यात्रा गरी चुवामा निस्केर कुश्मा बजारसम्म आउने गरेका थिए । आकस्मिक अवस्थामा जानु परेका कतिपयले पनि चुवाबाट हिँडेरै पातिचौर पुगेर सवारीमार्फत पोखरा पुगेका थिए ।

मध्यपहाडीको पर्वत खण्ड साबिकको धौलागिरिको एक मात्र कालोपत्रे, सहज र छोटो सडक हो । यो सडक अवरुद्ध हुँदा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा दैनिक उपभोग्य सामग्री, तरकारी तथा फलफूल र पेट्रोलियम पदार्थको अभाव हुँदा सामग्रीको अभाव हुनुका साथै तरकारी र फलफूलको मूल्य आकासिएको थियो । तीजमा तरकारी र फलफूल लगायतका खाद्यवस्तुको उपयोग बढी हुने तर यही बेलामा ती वस्तुहरूको अभाव भएको बेलामा स्थानीय उत्पादनले बजार धान्न नसकेपछि तीजको बेलामा तरकारी र फलफूलको मूल्य ह्वात्तै बढेको कुश्माका फलफूल तथा तरकारी व्यवसायी रामप्रसाद रखाल बताए । ‘दुई सय ५० मा बेच्ने गरेको स्याउ चार सयमा, ६० को बन्दा सयमा, डेढ सयको काउली दुई सयमा, ७० को करेला एक सय २० मा, ६० को टमाटर एक सय २० मा बेचिएको छ’ उनले भने, ‘गाउँबाट आउने उत्पादनलाई भाग लगाएर महँगोमा लिनु परेको छ । त्यही पनि स्थानीय उत्पादनले त एक छेउ पनि हुँदैन । सबै कुरा बाहिरबाट आउने हो, व्यापार हुने तीजकै बेलामा सामान पाइएको छैन ।’

सडक मार्ग हुँदै बागलुङबाट पोखरा पुग्न साढे दुई घण्टा र पर्वतबाट पोखरा पुग्न दुई घण्टा लाग्ने गरेको थियो । त्यसमा पनि तिजको बेला भएका कारण आफन्तकोमा जानेहरू र आकस्मिक अवस्थाका बिरामीहरूले करिब ८० हजार रुपैयाँसम्म भाडा तिरेर हेलिकोप्टर नै चाटर्ड गरी गन्तव्यमा पुग्नुपर्ने बाध्यता थियो। सडक मार्ग अवरुद्ध भएपछि चारै जिल्लाका आकाशमा हेलीकोप्टरहरु पटक–पटक उडिरहेको देखिएका थिए ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका कार्यालय प्रमुख इन्जिनियर मेघराज मरासिनीका अनुसार पहिरोका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्गमा ठूलो क्षति पुगेको छ । लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको उक्त सडक हस्तान्तरण नगर्दै ठूलो क्षति भएको हो । सडकका सबै संरचना निर्माण गर्दा २५–३० करोड रूपैयाँ लाग्ने पूर्वानुमान गरिएको मरासिनीले बताए । मापदण्डअनुसारकै सडक निर्माण गर्न ठूलो रकम लाग्ने भएकाले आयोजना प्रभावित हुने देखिएको छ । Dhorpatan News

प्रकाशित मिति २०७८ भदौ २४ गते बिहिबार ०६:४७
प्रतिक्रिया दिनुहोस्