बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा आज आईतबार कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाईने भएको छ । जिल्ला कोभिड १९ खोप व्यवस्थापन समितिको बैठकले बागलुङका १० वटै पालिकाका पायक पर्ने स्थानमा खोपकेन्द्र तय गरेर खोप लगाउने उल्लेख गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्र अनुसार बागलुङमा पनि यही भाद्र २५ गतेदेखि खोप कार्यक्रम सुरु हुने भएको थियो । सोहि परिपत्र अनुसार ढोरपाटन नगरपालिकामा १८ वर्ष उमेर पुगेका कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप लगाईने स्वास्थ्य शाखा प्रमुख घनश्याम शर्माले बताउनुभयो । नगरपालिका भित्र कक्षा १२ को परिक्षामा सहभागी हुने विद्यार्थी संङ्ख्या ३८० जना रहेको र उनीहरुलाई वडा अनुसार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र अधिकारीचौर स्वास्थ्यचौकी बाट खोप लगाईने उहाँले जानकारी दिनुभयो ।
विद्यार्थीहरुको पायक पर्ने स्थानको आधारमा ढोरपाटन नगरपालिकाको १,२,३ र ४ वडाको लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र ५,६,७,८ र ९ वडाको लागि अधिकारीचौर स्वास्थ्यचौकी गरि दुई स्थानबाट खोप लगाईने छ । खोप लागाउन आउदाँ विद्यार्थीहरुले अनिवार्य परिक्षा दिने प्रवेशपत्र र १८ वर्ष पुगे नपुगेको उमेर खुल्ले कागजातका साथ आउनुपर्ने उहाँले बताउनुभयो ।
कक्षा १२ का परिक्षाथीहरुलाई खोप लगाउने अभियान अन्तरगत बागलुङ नगरपालिका, जैमिनी नगरपालिका,काठेखोला,ताराखोला, तमानखोला,निसीखोला र बडिगाड गाउँपालिकामा भाद्र २५ र २६ खोप लगाईएको छ ।
यस्तै भाद्र २७ गते आईतबार भने ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा खोप लगाउने कार्यक्रम तय गरिएको छ । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गरिने भएकाले उनीहरुका लागि सरकारले खोप लगाउने कार्यक्रम तय गरेको हो । उनीहरुलाई अस्ट्राजेनिका नामको खोप लगाईने स्वास्थ्य कार्यलय बागलुङले जानकारी दिएको छ ।










