बुर्तिबाङ- पछिल्ला केहि हप्ता यता साँझको समयमा शरीरमा सेतो धर्को भएको पुतलीका कारण पश्चिम बागलुङ त्रास बढेको छ । प्रत्येक २-२ वर्षमा देखापर्ने शापु आतंक गण्डकीमा फेरि देखिएको छ । सेतो पुतलीको रौं (झुस) आँखामा परे आँखामा पीप जम्ने र सुकाउने हुनाले ज्योति पनि गुम्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
साँझको समयमा उज्यालो वस्तु वरिपरि भुम्मिने उक्त पुतलीका कारण एक महिना नबित्दै जिल्लाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ४० जना बिरामी पुगको स्वास्थ्य केन्द्रका दृष्टि विशेषज्ञ डा. रुद्र खत्रीले बताउनुभयो । आखाँको नानी भित्र पिप जम्मा भएका जिल्लाको ढोरपाटन नगरपालिका तमानखोला र निसीखोला गाउँपालिकाका गरि ५ जना विरामीलाई आँखा अस्पताल पोखरा र भैरहवा पठाईएको छ ।
बाँकीको स्वास्थ्य केन्द्र र आखाँ उपचार केन्द्रमै चेकजाँच र उपचार गरिएको उहाँले बताउनुभयो । विशेषगरी मनसुन अन्तिमबाट देखापर्ने यो पुतलीको शरीरमा कालो धर्सो हुन्छ । शरीरभरि बाक्लो रौं (झुस) भएको उक्त सेतो पुतलीको झुस आँखामा परे आँखा नै सुकाइदिने डा. खत्रीले बताउनुभयो ।
‘सुरुमा कुनै दुखाइ हुँदैन । आँखा रातोमात्रै हुन्छ । तर, विस्तारै आँखामा पिप जम्न थाल्छ । पिप सुक्दै जाँदा विस्तारै दृष्टि पनि हराउँदै जान्छ,’ डा खत्रीले भन्नुभयो्, ‘यस्तो बेला तत्काल अस्पताल नआए जीवन भरकै लागि आँखाको ज्योति नै गुम्न सक्छ । त्यसको उपचार कहीं हुँदैन ।’
बुर्तिबाङ स्थित गलकोट अप्टिलक तथा आखाँ उपचार केन्द्र र स्वास्थ्य केन्द्रमा आएका विरामीहरुमा प्राय बालबालिका बढि देखिएको जनाईएको छ । बुर्तिबाङबाट थप उपचारको लागि रेफर हुनेमा ढोरपाटन १ का ४ वर्षिय बालक, ढोरपाटन ९ का १४ बर्षिय बालिका,तमानखोला २ का १३ वर्षिय २ बालक र निसीखोला गाउँपालिका ७ कि ५४ बर्षिय महिला रहेका छन् ।
पछिल्ला केहि दिनयता बाग्लुङ जिल्ला सहित छिमेकी जिल्लाहरु गुल्मी,म्याग्दी पर्वत लगायतका गण्डकी प्रदेशका जिल्लाहरुमा सेतो पुतलीको त्रास बढेको छ । बुर्तिबाङबाट रेफर गरिएको विरामीहरुको अवस्था भने सुधारउन्मुख रहेको जनाईएको छ । हिमालयन आँखा अस्पताल, पोखरामा उपचारको लागि विभिन्न जिल्लाबाट पुगेका ४ जनाले पूर्ण रुपमा आँखाको ज्योति गुमाइसकेको अस्पताल जनाएको छ ।












