बागलुङमा देउवा पक्ष कमजोर

बागलुङमा देउवा पक्ष कमजोर
२०७८ असोज ११ गते सोमबार ०३:४५

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनबाट पालिका स्तरको नेतृत्व र निर्वाचनको मुल्याँकनमा देउवापक्ष कमजोर भएको देखिन्छ । केन्द्रदेखि तलसम्म काँग्रेसमा देउवा र पौडेल पक्ष स्पष्ट गुट देखिन्छ । त्यसमा पनि पछिल्लो समय सिटौला समुह...

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनबाट पालिका स्तरको नेतृत्व र निर्वाचनको मुल्याँकनमा देउवापक्ष कमजोर भएको देखिन्छ । केन्द्रदेखि तलसम्म काँग्रेसमा देउवा र पौडेल पक्ष स्पष्ट गुट देखिन्छ । त्यसमा पनि पछिल्लो समय सिटौला समुह समेत बागलुङमा देखापरेको छ ।

गत शनिबारबाट सुरु भएको गाउँ÷नगर अधिवेशनमा बागलुङका ८ वटा स्थानीय तहमा नेतृत्व चयन सकिएको छ । ति मध्ये ५ वटा पालिकामा सर्वसम्मत र ३ तीनवटा नगरमा निर्वाचन मार्फत चयन गरिएको छ ।

नेतृत्व चयन गर्न बाँकी बरेङ गाउँपालिका र गलकोट नगरपालिका रहेको छन् । काँग्रेसभित्र देखिएको गुट अर्थात समुहमा अहिलेसम्म देउवा समुह कमजोर तथा पौडेल समुह दरिलो देखिएको छ । जिल्लाको ८ स्थानीय तहमा निर्वाचन सम्पन्न हुँदा ७ वटा स्थानीय तहमा रामचन्द्र पौडेल पक्षको नेतृत्व आएको काँग्रेस स्रोतले बताएको छ । वाँकी १ मा देउवा समुह नृतेत्वमा आएको छ ।

निर्वाचनबाट नेतृत्व चयन भएकामध्ये ढोरपाटन नगरपालिकामा धनबहादुर कायत ‘कल्याण’ पौडेल समुहका भएको बताइएको छ । कायतले देउवा समुहका दिपक अदैलाई पराजित गरेर निर्वाचित हुनुभएको हो । उता जैमिनी नगरपालिकामा निर्वाचित प्रेम प्रसाद सापकोटा पनि पौडेल समुहका भएको बताइएको छ । सापकोटाले निवर्तमान सभापतिसमेत रहेका काशीराम आचार्यलाई पराजित गर्नुभएको हो । यस्तै सर्वसम्मत सभापति हुनुभएका ताराखोला गाउँपालिकाका कमलापति पाठक समेत पौडेल समुहका भएको भनिएको छ । बागलुङ पश्चिम निसीखोला गाउँपालिकामा सभापति हुनुभएका सूर्यबहादुर घर्ति र तमानखोला गाउँपालिकामा सभापति हुनुभएका लिलाबहादुर छन्त्याल दुवैजना पौडेल पक्षका रहेको बताइएको छ । काठेखोला गाउँपालिकामा यामदत्त कँडेल सुरुमा पौडेल पक्षका भएपनि पछिल्लो समय कँडेलले गुट परिवर्तन गरेको चर्चा छ ।

यस्तै बागलुङको बडिगाड गाउँपालिकामा निर्वाचित कृष्ण गुरुङ समेत स्पष्ट पौडेल समुहका रहेको बताइन्छ । भने निर्वाचन मार्फत देउवा समुहका कर्ण हमाललाई पराजित गरेका उमाकान्त शर्मा पौडेल खेमाबाटै विजयी हुनुभएको छ ।

निर्वाचन मार्फत नभई सहमतिय पद्धतिबाट गलकोटको सभापतिमा आउन लागेका वीरजंग भण्डारी समेत पौडेल खेमाका देखिएका छन् । गगन थापाका नजिक मानिने भण्डारी गलकोटको सभापति बन्ने करिव पक्का रहेको एक नेताले बताए । स्थगन भएको बरेङ गाउँपालिकामा को आउँछ भन्ने क्लियर छैन तर बागलुङको सन्दर्भमा अघिल्लो अधिवेशनमा पकड जमाएको देउवा पक्ष एकाएक कमजोर देखिएको छ । पौडेल पक्ष बलियो रहेको काँग्रेस वृत्तमा आन्तरिक मुल्याँकन गरिन थालिएको छ ।

सुरुको समयमा देउवा पक्षमा देखिएका नेताहरु बागलुङमा विभाजित जस्ता देखिएका छन् । नेताहरुको आन्तरिक महत्वकाँक्षीका कारण देउवा गुटमा अन्तर कलहले घर जमाएको एकाथरी नेताहरुको भनाई छ ।

गत भदौ २१ गते भएको वडा अधिवेशनमा भने ८४ वटा वडा निर्विरोध भएको थियो । ढोरपाटन नगरपालिका ५ मा मात्रै सभापतिका लागि निर्वाचन गर्नुपरेको थियो । तर पालिका अधिवेशनमा स्पष्ट गुटका उमेदवारहरु खडा गरिए, विभिन्न आन्तरिक आस्वासनले छोड्न लगाएर पालिकामा पौडेल पक्षको बलियो पकड बनेको अर्काथरीको भनाई छ ।

प्रकाशित मिति २०७८ असोज ११ गते सोमबार ०३:४५
प्रतिक्रिया दिनुहोस्