पश्चिम बागलुङको बडिगाडमा पहिलो पटक रक्तदान, ६३ युनिट रगत संकलन

पश्चिम बागलुङको बडिगाडमा पहिलो पटक रक्तदान, ६३ युनिट रगत संकलन

कमल पौडेल

@समय नेपाल

२०७८ असोज १७ गते आईतबार ०८:४२

खर्वाङ- बागलुङ जिल्लाको पश्चिम बडिगाडमा पहिलो पटक रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङ, रिभरहिल युवा क्लव खर्वाङको आयोजना, आधारभूत स्वास्थ्य इकाइ खर्वाङको सहआयोजना तथा नेपाल रेडक्रस सोसाइटी बागलुङ...

खर्वाङ- बागलुङ जिल्लाको पश्चिम बडिगाडमा पहिलो पटक रक्तदान कार्यक्रम गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङ, रिभरहिल युवा क्लव खर्वाङको आयोजना, आधारभूत स्वास्थ्य इकाइ खर्वाङको सहआयोजना तथा नेपाल रेडक्रस सोसाइटी बागलुङ रक्त सञ्चार सेवा र क्षेत्रिय रक्त सञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा ६३ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । कार्यक्रममा क्षेत्रिय रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवाली नेतृत्वको ५ सदस्यीय टोलीले ६३ युनिट रगत संकलन गरेको थियो । रक्तदानको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेले मानविय सेवामा रेडक्रस निरन्तर लागिरहेको र रक्तदान गर्नु जीवनकै सबै भन्दा ठुलो परोपकारी कार्य भएको बताउनुभयो ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले रक्तदान जस्तो पुण्य कार्यमा जोडिने सवै प्रति धन्यवाद व्यक्त गर्नुभयो । क्षेत्रिय रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीले आफुले सहयोग गरेको रगतले कसैको जीवन बाँचिरहँदा हुने आनन्द अन्य कुनै कार्यबाट प्राप्त नहुने बताउनु भयो । ज्ञवालीले रक्तदान गर्नु जीवन नै दान गर्नु सरह भएको भन्दै सामाजिक अज्ञानता र भ्रमका कारण मानिसहरु रक्तदान गर्नबाट छुटिरहेको बताउनुभयो ।

कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं.२ का अध्यक्ष ढाल प्रसाद शेरचन लगाएत वडा भित्र रहेका अधिकांश सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागिता थियो ।कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङका सभापति होमनाथ अर्यालको अध्यक्षता, रिभरहिल युवा क्लव खर्वाङका अध्यक्ष हितमान शेरचनको स्वागत मन्तव्य तथा सचिव जिव वहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति २०७८ असोज १७ गते आईतबार ०८:४२
प्रतिक्रिया दिनुहोस्